
महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मझगाउँ विमानस्थल निर्माण कार्य नरोकिने बताएका छन् । मझगाउँ विमानस्थल पुनः सञ्चालक समितिले आइतबार प्रधानमन्त्री दाहाललाई ज्ञापन बुझाएपछि उनले विमानस्थल सञ्चालनमा आउने बताएका हुन् ।
सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री दाहाललाई समितिले सैनिक अवरोधका कारण विमानस्थल निर्माण कार्य रोकिएकाले निर्देशनका लागि ज्ञापन बुझाएको हो ।

‘विमानस्थलको निर्माण कार्य कुनै हालतमा पनि रोकिदैन’ ज्ञापन पत्र बुझाएपछि प्रधानमन्त्री दाहालले दिएको आश्वासन उद्धृत गर्दै समितिका सदस्य राजेन्द्र चन्दले भने ।
चार वर्ष अघि बन्द विमानस्थल पुनः सञ्चालनका लागि ठेक्का भएर निर्माण सुुरु भएपछि सेनाले संरक्षित क्षेत्र भन्दै निर्माण कार्यमा अवरोध गर्दै आएको छ । सैनिक अवरोधले निर्माण कार्य रोकिएपछि समिति निर्देशनका लागि प्रधानमन्त्री दाहाललाई गुहारेको हो ।
विमानस्थल दक्षिणतको ६ सय ७५ मिटर लम्बाईको रत्न वाटिका र खेल मैदानलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्र भन्दै अवरोध गर्दै आएको हो ।
विमानस्थल निर्माण सुरु भएपछि सेनाले विमानस्थल निर्माण कार्यमा संलग्न मजदुर र सवारी साधन नियन्त्रनणमा लिएको थियो ।
सरकारले सेनाले संरक्षित क्षेत्र भन्दै अवरोध गरि रहेको रत्न वाटिका र खेल मैदान सहितको क्षेत्र विमानस्थलको भएको सूचना २०५१ मा राजपत्रमा प्रकाशित गरिएको थियो ।
विमानस्थलको दक्षिणतिर धावन मार्ग विस्तारका लागि सेनाले प्रयोग गर्दै आएको रत्न वाटिका र खेल मैदानसम्म विमानस्थल विस्तार गर्न लागिएको हो । सेनाले पछिल्लो विनमास्थल विस्तारका लागि वातवरणीय प्रभाव अध्ययन (इआए) का लागि सहमति दिन अस्वीकार गरेको थियो ।
सेनाले इआएका लागि सहमति दिन अस्वीकृत गरेपछि विमानस्थल निर्माण कार्य अन्यौलमा परेको छ । कञ्चनपुर क्षेत्र नं. ३ का पूर्व साँसद डा. भट्टले विमानस्थल निर्माणमा सरकारका अन्तर मन्त्रालयबीच विमति हुन दुःखद भएको बताए ।
‘विकास निर्माणमा यस्तो नहुनु नपर्ने हो, सरकारी सबै निकायले समन्वय र सहकार्य गरी विमानस्थल निर्माण कार्यलाई सहज बनाउनु पर्छ’ उनले भने ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का एमालेका पूर्व साँसद डा. दिपक प्रकाश भट्टले शनिबार विमानस्थल निर्माणको कार्य सञ्चालनका लागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए ।
२०७७ मा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकारको साझेदारीमा विमानस्थल निर्माण सुरु गर्ने सम्झौता भएको थियो ।
सम्झौतामा भीमदत्त १५ प्रतिशत, दोधारा चाँदनी १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकार २५ प्रतिशत र बाँकी ५० प्रतिशत लगानी संघ सरकारको व्यहोर्ने पर्ने उल्लेख छ ।
सम्झौता अनुसार २०७७ फागुन १८ गते ठेक्का भएर ११ असार २०७८ मा ठेक्का सम्झौता भएर विमानस्थल पुनः सञ्चालनका लागि निर्माण कार्य सुरु भएको थियो ।
सशस्त्र द्वन्द्वको कारण २०५६ देखि बन्द विमानस्थल पुनः सञ्चालनका पूर्व साँसद भट्टले २०७४ मा सक्रियता देखाएका हुन् । पाँच वर्षे आफ्नो कार्यकालमा भट्टले विमानस्थल सञ्चालनका लागि ठेक्का गराएका हुन् ।
पूर्व साँसद भट्टको सक्रियतापछि संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा विमानस्थल निर्माण कार्य अघि बढेको हो ।
विमानस्थल पुनः सञ्चालन समितिका सदस्य चन्दले विमानस्थल सञ्चालनमा आए शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक वृद्धि हुने, निकुञ्जको राजश्वमा वृद्धि हने र धनगढी विमानस्थलको पुरक विमानस्थल बन्ने बताए ।
