
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले आवश्यक प्रक्रिया पूरा नहुँदै कोरिया भ्रमणका लागि पेश्की लिएका छन् । मेयर लिम्बुले कार्यपालिका बैठकबाट कोरिया भ्रमण स्वीकृत गरी गत चैत पहिलो साता पाँच लाख पेश्की लिएका छन् । पेश्की लिएको एक महिना डेढ महिनासम्म उनी कोरिया भ्रमणमा गएका छैनन् ।
कोरिया भ्रमणको पेश्की लिएपछि उनी दुई पटक काठमाडौं गएका छन् । अहिले पनि मेयर लिम्बु काठमाडौंमा छन् । मेयर लिम्बुले माघ १५ र फागुन १३ गतेको कार्यपालिका बैठकबाट कोरिया भ्रमण स्वीकृत गराएका थिए । ती दुबै बैठकबाट मेयर लिम्बुको नेतृत्वमा कोरिया भ्रमणमा जाने टोलीको खर्च व्यहोर्ने निर्णय गरिएको थियो ।
कार्यपालिका बैठकको निर्णय अनुसार मेयर लिम्बुले कोरियाको भिसा नआउँदै पेश्की लिएका छन् । उनले काठमाडौं गएर राहदानी (पासपोर्ट) भने बनाई सकेका छन् । मेयर नेतृत्वमा कोरिया भ्रमणमा जाने टोलीका अन्य सदस्यको नाम पनि टुङ्गो लागेको छैन ।
मेयर लिम्बु कोरिया भ्रमणमा जाने बाहेकका अन्य जानकारीबारे नगरपालिका कार्यालय र मेयरको सचिवालयले अनविज्ञता व्यक्त गरेको छ ।
मेयर लिम्बुका स्वकीय सचिव मोहन बहादुर चन्दले कोरिया भ्रमणका लागि आवश्यक प्रक्रिया थालिएको बताए । ‘अहिले प्रक्रियामा छ, भिसा आएको छैन, त्यो प्रक्रियामा नै छ’ उनले भने,‘भिसा आएपछि नगरपालिकाको टोली मेयरको नेतृत्वमा कोरिया जान्छ ।’
मेयरका स्वकीय चन्दले मेयर नेतृत्वको टोलीमा कोरिया जाने सदस्यको नाम भने यकिन नगरिएको बताए ।
मेयर लिम्बले कोरियाका दुई निजी कम्पनीको आमन्त्रणमा आफू नेतृत्वको टोली कोरिया भ्रमणमा जाने निर्णय गराएका छन् । कार्यपालिका बैठकमा कोरिया भ्रमण जाने र त्यसको खर्च नगरपालिकाले व्यहोर्ने बाहेक अन्य निर्णय नभएको कार्यपालिका सदस्यहरुले बताए ।
चार महिना अघि माघ १५ गतेको कार्यपालिका बैठकमा कोरियाको जिरो वेष्ट मेनेजमेन्ट कम्पनीको आमन्त्रणमा मेयर नेतृत्वको टोलीका भ्रमणमा जाने कार्यक्रम स्वीकृत गरिएको थियो । त्यसको एक महिनापछि फेरि फागुनमा अर्को बैठकबाट अर्को कम्पनीको आमन्त्रणमा कोरिया भ्रमणमा जाने निर्णय गरिएको हो ।
माघ १५ गतेको बैठकमा मेयर लिम्बु नेतृत्वको टोलीले फोहरमैला व्यवस्थापन सम्बन्धि अध्ययन, अवलोकन गर्ने विषयमा छलफल गरी भ्रमण स्वीकृत गरिएको एक कार्यपालिका सदस्यले बताए । कार्यपालिका बैठकमा विविध कार्यसूचीमा कोरिया भ्रमण समावेश गरिएको थियो ।
मेयर लिम्बुले फागुन १३ गते अर्को कार्यपालिका बैठकबाट अर्को कोरिया भ्रमण स्वीकृत गराएका छन् । कार्यपालिका बैठकमा सहभागी एक सदस्यका अनुसार उनले कोसा कम्पनीको आमन्त्रणमा रोजगार सम्झौताका लागि भ्रमण स्वीकृत गराएका हुन् ।
‘दोधारा चाँदनीका युवालाई कोरियामा के कसरी रोजागरी उपलब्ध गराउन सकिन्छ, त्यहाँको अवस्था के छ भनेर बुझ्न बैठकमा प्रस्ताव आएपछि मेयरको नेतृत्वमा भ्रमणमा जाने निर्णय गरिएको हो’ बैठकमा सहभागी ती कार्यपालिका सदस्यले भने ।
कार्यपालिका बैठकबाट भ्रमण स्वीकृत गराएर पेश्की लिई भ्रमणमा नगएपछि मेयर लिम्बुको नियतमाथि कार्यपालिका सदस्यले शंका गर्न थालेका छन् । ‘कार्यपालिका बैठकबाट भ्रमण स्वीकृत गरी पेश्की लिएर भ्रमणमा जानु पर्ने हो, तर अहिलेसम्म जानु भएको छैन’ ती कार्यपालिका सदस्यले भने,‘यसले वहाँको नियतमाथि प्रश्न उठेको छ ।
कार्यपालिका सदस्यहरुले अर्को बैठकमा कोरिया भ्रमणको पेश्की फिर्ताका लागि माग गर्ने बताए । नगरपालिका कार्यालय स्रोतका अनुसार मेयर लिम्बुले सात लाख पेश्की मागेका थिए ।
मेयरको आग्रहमा उप मेयर गंगा जोशीले काठमाडौ गएर राहदानी बनाएका छन् । मेयरले पछिल्लो समय उप मेयरलाई भ्रमणमा लैजान नसकिने बताएपछि उनी असन्तुष्ट भएकी छन् ।
दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले कोरियाको नगर(मुनिसिपिलिटी) भगिननी सम्बन्ध स्थापना, विकास निर्माणको अवलोकन, फोहर व्यवस्थापन अवलोकन र रोजगारीका लागि सम्झौता गर्न मेयर लिम्बुको नेतृत्वमा नगरपालिकाको टोली कोरिया भ्रमणमा जाने निर्णय गरिएको बताए ।
कार्यपालिका बैठकबाट भ्रमण स्वीकृत भएपछि नियमानुसार पेश्की दिइएको बताए । ‘नियमानुसार नै भ्रमण पेश्की दिइएको छ, नभए फिर्ता हुन्छ’ उनले भने ।
प्रमुख प्रशासकीय अधिकृृत मिश्रले मेयर नेतृत्वको टोलीमा कोरिया जाने सदस्यको नाम भने हालसम्म टुङ्गो नलागेको जानकारी दिए ।
एमाले नेता लिम्बु २०७९ को स्थानीय तह निर्वाचनबाट दोधारा चाँदनीको मेयर निर्वाचित भएका हुन् । कञ्चनपुरमा उनी सबैभन्दा बढी काठमाडौं भ्रमणमा जाने मेयरका रुपमा परिचित छन् ।
एमालेको नवौ जिल्ला अधिवेशनबाट जिल्ला सदस्य भएका उनी एमालेको दोधारा चाँदनीको सह इन्चार्ज छन् ।
