महेन्द्रनगर । शिक्षक सेवा आयोग पास गरी प्राथमिक तहमा स्थायी शिक्षक भएका खेमराज भट्ट र नन्दा चन्दलाई शिक्षा विकास समन्वय इकाइ कञ्चनपुरबाट स्थायी नियुक्ति बुझेको एक महिना पुग्न लागेको छ । विद्यालयमा पढाएर महिना दिनको तलब पाउनु पर्नेमा उनीहरु अहिलेसम्म हाजिर लगाउने विद्यालय खोजीमा भौतारिएका छन् ।
बैशाख २४ गते दुबै शिक्षकले स्थायी नियुक्ति बुझेको एक महिना पुग्दैछ । शिक्षा नियमावली अनुसार उनीहरुले स्थायी नियुक्ति बुझेको एक महिनाभित्र विद्यालयमा हाजिर हुनु पर्ने कानुनी बाध्यता छ । यस्तो कानुनी बाध्यताबाट मुक्ति पाउन उनीहरुले गरेका प्रयास सार्थक हुने दिशामा पुगेका छैनन् ।
चैत अन्तिम साता समन्वय इकाईले ३२ जना स्थायी शिक्षकसंगै उनीहरुलाई नियुक्ति दिइएको थियो । शिक्षकद्वय भट्ट र नन्दसंग तीन जनालाई पदस्थापनका लागि बेलडाँडी गाउँपालिका सिफारिश गरिएको थियो । गाउँपालिकाले उनीहरुलाई पदस्थापन गर्न अस्वीकार गरी फिर्ता पठाई दिएको हो ।
समन्वयले भट्ट र नन्दलाई रिक्त दरबन्दीमा पदपूर्तिका लागि पदस्थापन गर्न सिफारिश गरेको थियो । अस्थायी शिक्षकको सट्टामा पठाइएका अर्का शिक्षक मोनिका चन्दलाई भने पदस्थापन गरी विद्यालय पठाइएको छ । उनी सरस्वती मावि झरनासागरमा पदस्थान गरिएकी छन् ।
शिक्षकद्वय भट्ट र चन्दलाई रिक्त दरबन्दीमा रौलेश्वर मावि र सिहपाल आधारभूत विद्यालयको पदपूर्तिका लागि सिफारिश गरिएको थियो । शिक्षा समन्वय इकाईले त्यस अघि भने अन्य विद्यालयको शिक्षक दरबन्दी पूर्तिका लागि आयोगमा सिफारिश पठाएको थियो ।
शिक्षा विकास समन्वय इकाइले कञ्चनपुरका सबै ९ ओटै पालिकामा रिक्त १६ सीट र १६ अस्थायी शिक्षकका दरबन्दीमा स्थायी दरबन्दीका लागि माग गरेको थियो । त्यस अनुसार बेलडाँडीमा दुई रिक्त सहित तीन दरबन्दी पूर्तिका लागि माग गरिएको थियो ।
गाउँपालिकाले ती दुबै रिक्त दरबन्दी आयोगले विज्ञापन खोलेपछि रिक्त भएकाले गणना हुन नसक्ने कारण देखाएर पदस्थापन गर्न अस्वीकार गरेको हो । शिक्षा समन्वय इकाइले गाउँपालिकालाई पदस्थापनका लागि पत्र पदस्थापन गर्न नसकिने जवाफ पठाएको छ ।
‘हामीले स्थायी नियुक्ति दिएर बेलडाँडीमा तीन शिक्षकलाई पदस्थापनका लागि सिफारिश गरेका थियौ, गाउँपालिकाले पदस्थापन गर्दैनौ भन्यो, त्यसपछि कार्यालयमा पत्र पठाउँदा त्यसको जवाफमा गाउँ कार्यपालिकाको निर्णय सहित जवाफ पठाइएको छ’ शिक्षा विकास समन्वय इकाइ कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र भट्टले भने,‘त्यसमा शिक्षक सेवा आयोगको विज्ञापन खोलेपछि मात्रै यी दुई सीट रिक्त भएकाले गणना हुन सक्दैन भनेर जवाफ फर्काइएको छ ।’
सूचना अधिकारी भट्टले समन्वय इकाईले आयोग पास गरी आएका शिक्षकलाई स्थायी नियुक्ति दिएर सम्बन्धित पालिकामा पदस्थापनका लागि सिफारिश गरेपछि पालिकाले पदस्थापन गरी विद्यालय तोक्ने अधिकार भएको बताए ।
‘पहिला शिक्षा इकाईबाट नै विद्यालय तोकेर पठाइने गरिन्थ्यो, अहिले इकाईले आयोगबाट आएका शिक्षकलाई स्थायी नियुक्ति दिन्छ, त्यसपछि पदस्थापनका लागि सम्बन्धित पालिकामा पठाउने हो,’ उनले भने,‘पदस्थापन गरी विद्यालय तोक्ने काम पालिकाको नै हो,यस बाहेक समन्वय इकाईले अरु केही गर्न सक्दैन ।’
बेलडाँडीका ती दुबै विद्यालयमा बाहिर जिल्लाबाट शिक्षक सरुवा गरी पदपूर्ति गर्न शिक्षा समन्वय इकाईमा फाइल दर्ता भएको छ । तीन साता अघि बैशाख ४ गते दुबै विद्यालयमा शिक्षक सरुवाका लागि फाइल दर्ता भएको थियो ।
ती दुबै विद्यालयमा शिक्षक सरुवा प्रक्रिया अघि बढेकाले पदस्थापन गर्न अस्वीकार गरिएका शिक्षकद्वयलाई अन्यत्र पठाएर समन्वयले इकाईले समस्या समाधान गर्ने प्रयास गरेको छ ।
जिल्ला समितिले १८ बैशाखमा ती दुबै शिक्षकलाई भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा पदस्थापनका लागि सिफारिश गरेको छ । समितिले पदस्थापनका लागि सिफारिश गर्ने निर्णय गरेका दिन दुबै पालिकामा सिफारिश पठाइएको थियो ।
भीमदत्त नगरपालिकाले समन्वयको सिफारिश अनुसार नन्दा चन्दलाई पदस्थापन गरी भृकुटी माध्यमिक विद्यालयमा पठाएको छ । भीमदत्तले पदस्थापन गरेपछि विद्यालय पुगेकी चन्दलाई हाजिर लगाउन दिइएको छैन ।
भीमदत्त नगरपालिकाको शिक्षा तथा युवा खेलकूद शाखाका प्रमुख कलावति मिश्र भट्टले शिक्षा समन्वय इकाईको पत्रका आधारमा पदस्थापन गरी विद्यालय तोकिएको बताइन् ।
‘समन्वयबाट पदस्थापनका लागि पत्र आएको थियो, त्यसका आधारमा विद्यालय तोकर पठाइएको हो’ उनले भनिन् ।
भीमदत्तले यस अघि समन्वयको सिफारिश अनुसार एक जना शिक्षकलाई पदस्थापन गरी सरस्वती आधारभूत विद्यालय मुसेट्टीमा पठाइ सकेको छ ।
दोधारा चाँदनी नगरपालिका सिफारिश गरिएका खेमराज भट्टको अझै पदस्थापन गरिएको छैन । उनलाई शंकर पार्वती माध्यमिक विद्यालयको रिक्त पदका लागि पदस्थापन गरी पदपूर्ति गर्न सिफारिश गरिएको थियो ।
भृकुटी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र आग्रीले शिक्षा समन्वय इकाईले गणना नहुने दरबन्दीमा समन्वय समितिले जबरजस्ती रुपमा पठाएको बताए ।
‘हामीले शिक्षक सरुवाको सहमतिको निर्णय गरि सकेका छौ, त्यस विपरित शिक्षा समन्वयले पठाएपछि हाजिर लगाउन दिएका छैनौ’ उनले भने,‘ चैत मसान्तमा भएका खाली दरबन्दी काउन्टेबल भएको र बैशाखबाट भएका खाली दरबन्दीमा आयोगबाट छनौट भएका शिक्षकलाई नियमानुसार पठाउनु पाइदैन, त्यस कारण यस्तो निर्णय सच्याउन आग्रह गर्छाै, अन्यथा आन्दोलन गर्न नपरोस ।’
भृकुटी र दोधारा चाँदनीको शंकर पार्वतीमा वैशाखमा मात्रै शिक्षक दरबन्दी खाली भएका हुन् । दोधारा चाँदनीमा पनि यस अघि शिक्षा समन्वय समितिबाट सिफारिश गरिएका तीन जना शिक्षकको पदस्थापन भइ सकेको छ ।
शिक्षक विकास समन्वय इकाईका सूचना अधिकारी भट्ट शिक्षा समितिको निर्णय भएकाले पालिकाले पदस्थापन गरी विद्यालय तोक्नु पर्ने बताए । ‘समितिले रिक्त भएकाले पदस्थापनका लागि पठाएको हो’ उनले भने ।
जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा शिक्षा समितिको अध्यक्ष छन् । शिक्षा विकास समन्वय इकाई प्रमुख दिपकराज कलौनी समितिका सदस्य सचिव छन् ।
शिक्षा समितिका अध्यक्ष बोहरा र बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना दुबै जना काँग्रेसका नेता हुन् । शिक्षा समितिका अध्यक्ष बोहराले बेलडाँडीका अध्यक्ष आफ्नै पार्टीका नेता भएकाले उनको अडानलाई साथ दिएर अन्य पालिका पठाएका हुन् ।
शिक्षा समितिका सदस्य सचिव कलौनीले बेलडाँडीमा शिक्षक सरुवा प्रक्रिया अघि बढेकाले ती दुई शिक्षकलाई अन्यत्र पठाउन बोहरालाई साथ दिएका छन् । शिक्षक सरुवामा आर्थिक चलखेल हुने गरेको शिक्षक कार्यालयका अधिकारीहरु बताउँछन् । केहीले शिक्षक पदस्थापनमा पनि आर्थिक चलखेल हुने दावी गरेका छन् ।
शिक्षा समिति र शिक्षा विकास समन्वय इकाईको स्वार्थमा पिल्सिएका दुई शिक्षक भने विद्यालय हाजिर लगाउन नपाउने चिन्ताले पिरोलिएका छन् ।
बैशाख २४ गतेसम्म विद्यालय हाजिर लगाउन नसके ती दुबै शिक्षकको जागिर के हुने भन्ने चिन्ता बढेको छ । शिक्षा नियमावलीमा एक महिनाभित्र हाजिर लगाउनु पर्ने प्रावधान भएकाले त्यसपछि के हुने भन्ने अन्यौल भएको शिक्षा विकास समन्वय इकाईका सूचना अधिकारी भट्टले बताए ।
शिक्षक भट्टले यस अघि मिडियामा गाउँपालिकाले पदस्थापन नगर्दा हैरान भएको बताएका थिए । ‘२०८० सालको शिक्षक सेवा आयोगमा प्राथमिक तहमा चैत २५ गते नियुक्ती बुझेको हो। गाउँपालिका र शिक्षा विकासको द्धन्दको चपेटामा हामी छाँ। शिक्षा विकासमा हाजिर लगाउन दिन भनेका छौँ। तर, उहाँहरूले तलब दिन कुनै व्यवस्था छैन भन्दै आउनु भएको छ ।’
अर्का शिक्षक नन्दाकुमारी चन्दले नियुक्ति पत्र पाए पनि काम गर्न नपाएको बताइन् । उनले भनिन्, ‘बेलडाँडी गाउँपालिकाले पत्र दर्ता गरेन। एक जना मात्र मागेकोमा तीन जना पठाएको भन्दै पत्र दर्ता गर्न नमानेको हो। गत वर्ष पनि धेरै पठाएको भनेको थियो। हामीले चैत २६ गते नियुक्ति बुझेका हाँै। हामीसँगैका साथीहरूले हाजिर लगाउनु भएको छ। हामीले पाएका छैनौ ।