
महेन्द्रनगर । भारतको राजनधानी नयाँ दिल्लीमा अपहरण गरिएकी बैतडीकी १० बर्षीया बालिका हेमन्ती चन्दको सकुशल उद्धार गरिएको छ । मेलौली नगरपालिका –३ कुजागाड चिनाड घर भएकी १० बर्षीया चन्द सोमबार दिउँसो नयाँ दिल्लीको कोटलाबाट गान्ने स्थानबाट अपहरणमा परेकी थिइन् ।
मंगलबार राति १० बजे मेहरोलीको छत्रपुर मेट्रो स्टेशनबाट हेमन्तीको सकुशल उद्धार गरिएको भारतमा रहेका मेलौलीका स्थानीय भवानी भट्टले जानकारी दिए ।

पसलमा सामान किन्न गएकी हेमन्तीलाई कसैले लगेको दृश्य सीसीटीभी क्यामेरामा देखिएको थियो । सोही आधारमा खोजी गर्दा चन्दको सकुशल उद्धार गरिएको र अपहरणमा संलग्न एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको भट्टले जानकारी दिए ।
हेमन्तीका बुवा जनक चन्द रोजगारीको सिलसिलामा भारतको नयाँ दिल्लीमा रहेका छन् । आफ्नी हजुरआमासंगै हेमन्ती पनि घुम्नका लागि नयाँ दिल्ली पुगेका बेला अपहरणमा परेकी थिइन् ।
हेमन्ती फेला परेसंगै घरपरिवार खुसी भएका छन् । हेमन्तीको खोजीमा सहयोग गर्ने सबैलाई उनको परिवारले धन्यवाद समेत दिएको छ ।
