
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशी सहित जनप्रतिनिधि र कर्मचारीले स्थानीयसित छलफलपछि तारबार गरी बन्द गरिएको नहरको बाटो खुलाएका छन् । स्थानीयले नहर बाटोमा ग्राभेल हाल्न अवरोध गरेपछि उप मेयर नेतृत्वको टोली विहान आएर स्थानीयसित छलफल गरेको थियो ।
स्थानीय दुई परिवारले राखेको नहरको सबै बाटोमा खोलिनु पर्ने अडान राखेपछि विवाद भएको थियो । उनीहरुले आफ्नो जमिनका लागि मूल सडक किनारमा तारबार गरी बाटो बन्द गरि दिएका थिए ।

दोधारा चाँदनी नगरपालिका १ का वडा अध्यक्ष बिक्रम बहादुर चन्दले नहर किनार भएर आएको बाटोमा दुई परिवारले विवाद गरेको बताए । उनले वडा कार्यालयले वस्तीका सबै वासिन्दालाई पुग्ने गरी बाटोमा ग्राभेल हाल्न लागेको बताए ।
उप मेयर जोशी सहित वडा अध्यक्ष चन्द, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्र, सामाजिक विकास अधिकृत भानदेब भट्ट, प्रशासकीय अधिकृत डम्बरध्वज अवस्थी सहित स्थानीय बाटो खुलाउन पुगेका हुन् । उनीहरुलाई जग्गाधनी महिलाले केही समयसम्म अवरोध गरेकी थिइन् ।
मूल सडक किनारमा तारबार गरी बाटो बन्द भएपछि न्यायिक समितिले स्थानीयले मुद्दा दिएका थिए । उप मेयर नेतृत्वको समितिले दुबै पक्षसित छलफल गरेको थियो ।
दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिश्रले स्थानीयसित छलफलपछि शान्ति पूर्वक रुपमा बाटो खोलिएको बताए ।
