ghar sansar

वडा सदस्य हारेर अध्यक्ष जितेका गुरुधामी, जसले गरे दुई वर्षमै यस्ता काम

महेन्द्रनगर । २०७४ को स्थानीय तह निर्वाचन प्रचारका क्रममा मतदाताले उनलाई वडा अध्यक्षमा लडेपछि मात्रै मत दिने सुनाए । वडा सदस्य लडेका उनले मतदातालाई अर्को वर्ष अध्यक्ष लड्ने भन्दै सहयोगका लागि आग्रह गरे । वडा सदस्यमा निर्वाचित हुन सकेन । २०७९ मा मतदाताको आग्रह अनुसार वडा अध्यक्ष लडे । उनी वडा अध्यक्ष निर्वाचित भए ।

काँग्रेसका वडा सभापति मोहन बहादुर गुरुधामी बेदकोट नगरपालिका ३ को वडा अध्यक्ष निर्वाचित भएको दुई वर्ष पुगेको छ । २०७९ जेठ पहिलो साता पद तथा गोपनियताको शपथ खाएपछि उनी वडा वासिन्दाको चाहना पूरा गर्ने दिशामा अघि बढेका छन् ।

‘वडा सदस्य लड्दा जनताले मलाई अध्यक्ष लड, हामी सहयोग गर्छौ भन्नु भयो, जनताले मलाई सदस्यमा देख्न चाहेन, त्यस कारण म सफल हुन सकेन’ वडा अध्यक्ष गुरुधामीले भने,‘जनताको त्यही चाहना अनुसार वडा अध्यक्ष लडे, मलाई जिताएर यो जिम्मेवारीमा पुगाई दियो, म जनताको कारण यहाँ पुगेको हुँ, त्यस कारण पाँच वर्ष म जनताको चाहना अनुसार काम गर्छु, जनताको चाहना पूरा गर्न पाँच वर्षसम्म म सक्दो पहल गर्नेछु ।’

वडा अध्यक्ष गुरुधामी पाँच वर्षे कार्यकालमा चुनावमा गरिएका सबै वाचा पूरा गर्ने लक्ष्य लिएर अघि बढेका छन् । दुई वर्षे कार्यकालमा चुनावमा गरिएका वाचा अनुसार विकास निर्माणका कार्य अघि बढेको वडा अध्यक्ष गुरुधामी बताउँछन् ।

‘बाटो घाटो निर्माण, सडक कालोपत्रे गर्ने, शिक्षा स्वास्थ्य, पर्यटनको विकास गर्ने लगायतका एजेण्डा लिएर जनतासित मत मागेका थिए’ उनले भने,‘त्यस अनुसार अहिले काम अघि बढेका छन्, यो दुई वर्षमा कामकाज थालनी गरिएको छ, पाँच वर्षमा सबै वाचा पूरा हुन्छन् ।’

दुई वर्षमा वडाभित्रका खोला नालामा तटबन्धन, बेदकोट ताल संरक्षण, शारदा माध्यमिक विद्यालयको गुरु योजना निर्माण, नयाँ बाटो खोल्ने, पर्यटकीय क्षेत्रमा विद्युतीयकरण, छाडा पशु चौपाया व्यवस्थापन लगायतका कार्य गरिएको वडा अध्यक्ष गुरु धामीले जानकारी दिए ।

वडाका एक सय ५४ बाटोमध्ये चार पाँच बाहेक सबैमा ग्राभेलिङ्ग गरिएको छ । ती बाटोलाई स्तरोन्नति गरी कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । वडा कार्यालयको बजेटबाट कालोपत्रे गर्न सकिने अवस्था नभएकाले नगरपालिका, प्रदेश र संघ सरकारसित पहल गरिने वडा अध्यक्ष धामीले बताए ।

‘वडासित थोरै बजेट हुन्छ, माथिबाट बजेट आएपछि मात्रै यी बाटोलाई कालोपत्रे गर्न सकिने हो’ उनले भने,‘हाम्रो वडाको बजेटले सडक कालोपत्रे गर्न सकिने अवस्था छैन ।’

बेदकोट नगरपालिकाको प्रमुख पर्यटकीय क्षेत्र बेदकोट तालमा संरक्षणका कार्यक्रम अन्र्तगत पर्खाल निर्माण र सौर्य बत्ती जडान गरिएको छ । ताल क्षेत्रमा उज्यालोका लागि १० ओटा सोलार बत्ती जडान गरिएका छन् । सोलार जोडिएपछि ताल क्षेत्र झिलमिली बनेको छ ।

शारदा माविको शैक्षिक र भौतिक विकासका लागि २० करोडको गुरु योजना बनाइएको छ । वडा अध्यक्ष गुरुधामी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि छन् । गुरु योजना अनुसार विद्यालय भवन लगायतका संरचना बनाउन सहयोगका लागि भारतीय राजदूतावासमा गुरु योजना पेश गरिने वडा अध्यक्ष गुरुधामीले बताए ।

दैजी बजारदेखि चुरे क्षेत्रसम्म फैलिएको वडा नं. ३ को उत्तरी क्षेत्र बेदकोट तालसंगै लिफनामा वस्ती छ । वडा अध्यक्ष गुरुधामीले लिफना र बेदकोट ताल दुबैमा विद्युत सेवा पुगाउन सक्रिय रुपमा लागेका छन् ।

वडा अध्यक्ष धामीको पहलपछि विद्युत जडानका लागि संयुक्त रुपमा सर्भे गरिएको छ । ‘विद्युत जडानका लागि सर्भे भएको छ , अब यो कार्य अघि बढ्छ’ उनले भने ।

वडामा निर्माणाधिन १५ शैय्याको नगर अस्पताल निर्माण सम्झौता अनुसार बनाउनु पर्नेमा वडा अध्यक्ष गुरुधामी आफूले पटक पटक दबाव दिएको बताउँछन् ।

तीन वर्ष अघि ठेक्का लिएर शारदा माविको जग्गामा सुरु गरिएको नगर अस्पताल निर्माण अलपत्र भएपछि गत वर्ष स्थानीय आन्दोलनमा उत्रिएका थिए । त्यसपछि बेदकोटका मेयर भोजराज बोहराले ठेकेकदार कम्पनीलाई दबाव दिएर काम सुरु गर्न लगाएका थिए । वडा अध्यक्ष गुरुधामीले नगर अस्पतालको निर्माण कार्य अघि बढाउन वडा कार्यालयबाट पटक पटक दबाव दिएका हुन् ।

‘यो बेदकोट नगरपालिकाको गौरबको योजना हो, ठेक्का भएर काम सुरु भएको छ, बिचमा केही कारणले काम नभएर रोकियो, अहिले काम भई रहेको छ’ वडा अध्यक्ष गुरुधामीले भने,‘वडा कार्यालय अस्पताल बनाउन सधंंै सक्रिय रुपमा लाग्छ ।’

वडाभित्र शारदा मावि र शान्ति निकेतन आधारभूत गरी दुई सरकारी सामुदायिक विद्यालय छन् । ती दुबै विद्यालयलाई वडा कार्यालयबाट सहयोग गरिएको उनी बताउँछन् ।

वडा अध्यक्ष गुरुधामीले वडाका वासिन्दालाई स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउन सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘मैले चुनावमा बोलेका कुरालाई वडाको बजेट अनुसार योजना बनाएर अघि बढाएको छु’ उनले भने,‘जनताका चाहनाका अनुसार योजना बनाएर आगामी दिनमा पनि अघि बढ्छौ ।’

दुई वर्षे आफ्नो कार्यकाललाई जनताले सकारात्मक रुपमा लिएको वडा अध्यक्ष गुरुधामीले दावी गरे । ‘यो दुई वर्षे कार्यकालमा जनतालाई चिढाएको छैन, जन भावना सम्मान गरी अघि बढेको छ, कही कतै कमीकजोरी भए सुधार गर्दै जाने छु’ उनले भने ।

पाँच वर्षसम्म चुजावका सबै वाचा पूरा गर्ने लक्ष्य लिएका उनले हुलाकी सडक र दैजी जोगबुडा सडक कालोपत्रेका लागि सरोकारवालालाई दबाव दिइने बताए ।

‘हाम्रो वडामा यी दुई ठूला सडक महत्वपूर्ण छ, यी दुबै सडक बनाउन वडा कार्यालय सक्रिय रुपमा लाग्छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...