ghar sansar

मझगाउँ विमानस्थल : डोजर लगाएर दोस्रो दिनमै डरायो समिति

महेन्द्रनगर । मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध क्षेत्रमा सोमबारदेखि नागरि स्तरबाट सुरु गरिएको निर्माण कार्य फेरि रोकिएको छ । मझगाउँ विमानस्थल सञ्चालन समितिको अगुवाईमा सोमबार अवरुद्ध क्षेत्रमा डोजर प्रयोग गरी निर्माण कार्य सुरु गरिएको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले मंगलबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलाई विमानस्थल विस्तारका लागि अनुमति दिन नसकिने पत्र पठाएपछि दक्षिणतिरको जग्गामा निर्माण कार्य रोकिएको हो । निकुञ्जले पत्र पठाएपछि समितिले मंगलबार डोजर लगाउने कार्य रोकेर फेरि सर्वपक्षीय छलफल गरेको छ ।

रतन वाटिका क्षेत्रमा गरिएको छलफलमा विमानस्थल निर्माणका लागि थप दबाव दिने निर्णय गरिएको छ । छलफलमा निकुञ्ज कार्यालयले विभागमा पठाएको पत्र लगायतका विषयमा छलफल गरिएको छ ।

समितिका सचिव राजेन्द्र चन्दले निकुञ्जले निर्माण कार्य अवरुद्ध गर्ने नियत राखेर विभागलाई पत्राचार गरेको बताए । सोमबार डोजर लगाएर निर्माण सुरु गर्दा निकुञ्ज कार्यालय अनविज्ञ थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सेनाको अवरोध गरेपछि एक वर्षदेखि विमानस्थल निर्माण कार्य सुस्त गतिमा लिएको छ । सेनाले रतन वाटिका क्षेत्रमा कार्य सुरु भएपछि अवरोध गर्न सुरु गरेको थियो ।

पाँच वर्ष अघि २०७६ मा पूर्व डिएफओ रमेश चन्द ठकुरीको नेतृत्वमा विमानस्थल सञ्चालनका लागि नागरिक स्तरबाट समिति गठन गरिएको थियो । समितिले जनप्रतिनिधि र राजनीतिक दलका नेतालाई विमानस्थल सञ्चालनका लागि एसएमएस पठाएर दबाव दिएपछि पुनः सञ्चालनका लागि दबाव दिएको थियो ।

नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्चिम प्रदेश सरकार, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले साझेदारीमा २०७८ मा ४५ करोड ६६ लाखमा ठेक्का भएर पुनः सञ्चालनका लागि निर्माण कार्य अघि बढेको हो ।

मझगाउँ विमानस्थल सञ्चालन समितिका संयोजक रमेश चन्दले सेना, निकुञ्ज, राजनीतिक दल सबैसित छलफल, समन्वय र सहकार्य गरी विमानस्थल निर्माण कार्य सुरु गरिएको बताए ।

पाँच दशक अघि सञ्चालन गरिएको विमानस्थल सशस्त्र द्वन्द्वका कारण २०५६ मा बन्द गरिएको थियो । त्यही विमानस्थललाई दक्षिणतिर झण्डै पाँच सय मिटर विस्तार गरी सञ्चालनक लाागि निर्माण कार्य अघि बढेको हो ।

विमानस्थल दक्षिणतिर विस्तार भए एक हजार पाँच सय २५ मिटर लम्बाईको धावनमार्ग हुने छ । यस अघि एक हजार मिटर भएको धावनमार्गलाई विस्तार गर्न सके विमान चलाउन सकिने सम्भाव्यता अध्ययनमा देखिएको थियो । त्यसपछि सेना र निकुञ्जसित छलफल गरी ठेक्का भएको हो ।

विमानस्थलसित हाल ५२ बिगाहा जग्गा छ । त्यस बाहेक सेना र निकुञ्जले निर्माण अवरोध गरि रहेको २२ बिगाहा जग्गामा विमानस्थल विस्तार गर्न खोजिएको हो । त्यहीं क्षेत्रमा सेना र निकुञ्ज दुबैले अवरोध गरेका हुन् ।

सेनाले राजपत्रमा विमानस्थलको क्षेत्र प्रकाशन भएपछि २२ बिगाहा जग्गा आफ्नो नाममा पूर्जा बनाएको छ । सरकारको निर्णय विना तत्कालिन चण्डीदल गणले जग्गाको पूर्जा बनाएको थियो ।

हालसम्म विमानस्थल निर्माण कार्यको प्रगति ३६ प्रतिशत भएको छ । ९ सय ७० मिटर धावन मार्ग निर्माण गरिएको छ । अवरोधका कारण दक्षिणतिर निर्माण कार्य अघि बढाउन सकिएको छैन ।

२०७७ मा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकारको साझेदारीमा विमानस्थल निर्माण सुरु गर्ने सम्झौता भएको थियो ।

सम्झौता अनुसार भीमदत्त १५ प्रतिशत, दोधारा चाँदनी १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकार २५ प्रतिशत र बाँकी ५० प्रतिशत लगानी संघ सरकारको व्यहोर्ने भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...