

महेन्द्रनगर । वैवाहित बलात्कार मुद्दामा प्रहरीले हिरासतमा लिएका गायक रवि ओड रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले धरौटी छाड्ने आदेश दिएपछि ओड रिहा भएका हुन् ।
उनी बिहीबार साँझ रिहा भएका हुन् । जिल्ला अदालत कञ्चनपुरका न्यायाधिश लिलाराज अधिकारीले बिहीबार थुनछेक बसहमा ओडलाई पाँँच लाख धरौटीमा छाड्न आदेश दिएका हुन् ।

अदालतको आदेशपछि उनी धरौटी रकम बुझाएर रिहा भएको उनका कानुनी व्यवसायी देबदत्त पन्तले बताए ।
ओडले गत साता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए । प्रहरीले ५ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको थियो । ओड कञ्चनपुरको कृष्णपुर नगरपालिका निवासी हुन् ।
‘नेपाल आइडल सिजन २’ विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।
