ghar sansar

अन्याय विरुद्ध आमा छोरा

राधादेबी भन्छिन्– यो बैंकमा मरे पनि मरुला, मलाई ज्यानको मतलब छैन, मलाई मेरो जग्गा चाहियो

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ श्रीकृष्ण टोलका राधादेबी कामी र उनका छोरा प्रकाश ६ दिनदेखि कुमारी बैैंकमा धर्ना बसेका छन् ।

महेन्द्रनगर बजारको क्याम्पस रोडस्थित बैंक कार्यालयमा आमा छोरा कालो ब्यानर लगाएर विहानदेखि साँझसम्म धर्ना बस्ने गरेका हुन् । धर्नामा बसेका आमा छोरालाई उनका आफन्त, छर छिमेकले पनि साथ दिएका छन् ।

lotus institite

धर्ना बसेका आमा छोरा दुबैको हातमा कालो पट्टी बाँधेका छन् । उनीहरुसंगै धर्ना बस्ने अन्यले पनि हातमा कालोपट्टी बाँध्ने गरेका छन् ।

विहानदेखि साँझसम्म धर्ना बस्दा बैंक प्रवेशद्वार अगाडि राखिने कालो ब्यानरमा लेखिएको छ, ‘तत्कालिन एनसीसी बंैक, हालको कमारी बैंकका कर्मचारी र भूमाफियाको मिलेमतोमा भीनपा १८ बस्ने सर्वसाधारण थम बहादुर कामीको जग्गामा भएको अन्याय विरुद्ध धर्ना कार्यक्रम ।’

ब्यानरमा नाम उल्लेख गरिएका थम बहादुर कामी प्रकाशका बुवा हुन् । पाँच वर्ष अघि उनको निधन भएको थियो । अहिले कामीको जग्गामा भएको अन्याय विरुद्ध धर्मपत्नि राधादेबी र छोराले बैंकमा धर्ना बसेका हुन् ।

जेठ महिनाको प्रचण्ड गर्मीमा आमा छोरा विहानदेखि बैंक कार्यालय आएर धर्ना बस्छन् । उनीहरु छाता समेत नओढी दैनिक धर्ना बसि रहेका छन् । बैंकको ढोकामा भएको धर्नामा अहिलेसम्म ध्यान पुगेको छैन ।

‘आज छैठौ दिन पनि धर्ना बस्यौ, बैंकले अहिलेसम्म केही चासो देखाएको छैन’ शुुक्रबार धर्ना स्थलमा प्रकाशले भने,‘न्याय नपाएसम्म हामी धर्ना रोक्ने अवस्थामा छैनौ ।’

प्रकाश बुवा थम बहादुरको नाममा भएका जग्गालाई उनका आफन्तले महेन्द्रनगर बजारका लक्ष्मण विष्टसित ८ लाखमा दृष्टिबन्धक राखेपछि उनको परिवारलाई जानकारी नभएर जग्गा खरिद बिक्री भएर बैंक धितो राखिएको हो । दृष्टिबन्धक राखिएको जग्गा लिलाम गर्ने भन्दै बैंक घरमा आएपछि कामी परिवार आफ्नो जग्गा फिर्ता गराउन लागि परेका छन् ।

जग्गा दृष्टि बन्धक राखेका विष्टले आफ्नो नाममा नामसारी गरी चन्द्र गिरीलाई बेचेपछि बैंकमा धितो राखिएको थियो । गिरीले विष्टबाट किनेर तत्कालिन एनसएसी बैंकको अत्तरिया शाखामा जग्गा धितो राखेर ४५ लाख ऋण लिएका छन् । जग्गा कारोबारका लागि ऋण लिएका गिरी फरार भएपछि बैंकले जग्गा लिलाम प्रक्रिया अघि बढाएको हो ।

प्रकाशकी आमा राधादेबीले आफू खेतबारीमा घाँस काट्दा बैंकको कर्मचारी गिरीको जग्गा भन्दै खोजी गर्न लागेपछि आफ्नो जग्गा बैंक पुगेको बताइन् ।

‘म खेतमा घाँस काट्दै थिए, यो जग्गामा हामी २०२४ सालदेखि बस्दै आएका छौ, बैंकका कर्मचारीले मेरो जग्गा गिरी हो भन्दै सोधे, अनि लिलाम हुन लागेको भनेपछि मेरो त होस हवास नै हरायो’ उनले भनिन् ।

श्रीमान सोझा र सिधा भएको तथा छोराहरु साना भएकाले उनलाई झुक्याएर जग्गा बेचबिखन गरिएको हुन सक्ने उनी बताउँछिन् । उनका दुई छोरा छन् । बैंकले जग्गा लिलाम गरे आफ्नो परिवारको उठीबास हुने चिन्तामा छन् राधादेबी ।

‘यो जग्गामा मेरो परिवारको खुन पसिना बगेको छ , म एक इन्च पनि छाड्दैन, सास रहेसम्म जग्गाका लागि लडि रहन्छु’ उनले भनिन्,‘अब यो बैंकमा मरे पनि मरुला, मलाई ज्यानको मतलब छैन, मलाई मेरो जग्गा चाहियो ।’

दृष्टि बन्धक गरिएको जग्गालाई विष्टले फिर्ता गर्न प्रहरी कार्यालयमा कागज समेत बनाएका छन् । त्यहीं कागजका आधारमा जग्गा फिर्ता हुने आशमा बसेका कामी परिवारले एकै पटक जग्गा लिलाम हुन लागेको जानकारी पाएका हुन् ।

बैंक जग्गा लिलाम गर्ने प्रक्रिया अघि बढाएपछि जग्गा फिर्ताका लागि कामी परिवार सरकारी निकाय, बैंक, राजनीतिक दल, स्थानीय सरकार सहित सबैलाई गुहारेको छ ।

बैंकले गत पुसमा जग्गा लिलाम प्रक्रियाका लागि बोलपत्र आव्हान गरेपछि कामी परिवार बैंकको केन्द्रीय कार्यालय पुगेको थियो । बैंकले प्रकाशको परिवारलाई ऋण चुक्ता गरे जग्गा फिर्ता दिने आश्वासन दिएको थियो ।

बैंकको आश्वासन अनुसार प्रकाश ५६ लाखको चेक बोकेर बैंकमा पुगे । बैंकको महेन्द्रनगर शाखाका कर्मचारीले आलटाल गरी उनको पैसा जम्मा गर्न रोकि दिए । कर्मचारीले माथिको निर्देशन भन्दै चेक डिपोजिट गर्न आलटाल गरेको थियो ।

बैंकको केन्द्रीय कार्यालयका रिकभरी हेड भुवन पाण्डेय र अत्तरिया शाखा प्रमुख किसन पालको निर्देशनमा कर्मचारीले चेक जम्मा गर्न आनाकानी गरेको आशंका गरिएको छ ।

‘मलाई त्यो दिन कर्मचारीले तलदेखि माथि र माथिदेखि तल जानु भनियो, मैले थाह पाइ सकेको थिए, पाण्डेयजीजलाई फोन गर्दा एक छिनपछि हुँदैन भनि हाल्यो’ प्रकाशले भने ।

बैंकले प्रकाशको चेक डिपोजिट नगरी प्रकाश भट्टको बोलपत्र दर्ता गरेको थियो । अन्य बोलपत्र दाता भने प्रकाशको आग्रह अनुसार पछि हटेका थिए ।

बैंकले आश्वासन अनुसार चेक जम्मा नगरेपछि निराश कामी परिवार त्यसपछि न्यायका लागि स्थानीय सरकरा गुहारे । उनीहरुले भीमदत्त नगरपालिका १८ मा आफूहरुको जग्गा जालसाची गरी बंैक पुगाएर लिलाम गर्न लागिएको भन्दै वडा कार्यालयमा निवेदन दिए ।

कामी परिवारको निवेदनका आधारमा वडा कार्यालयले बैंकलाई घर बाटो सिफारिश दिन अस्वीकार गर्यो । वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले जग्गामा विवाद आएकाले सिफारिश दिन नसकिने अडान राखेपछि बैंकको केन्द्रीय कार्यालयले उनलाई कानुनी कारवाही गराउने चेतावनी दिएको थियो । वडा अध्यक्ष देवकोटाले बैंकको धम्कीको प्रतिकार गर्दैै सिफारिश नदिने अडान दोहो¥याए ।

वडा अध्यक्षको अडानपछि बैंक पीडित परिवारसित सम्झौता गर्न बाध्य भयो । वडा कार्यालयमा फागुन दोस्रो साता बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रतिनिधि, महेन्द्रनगर शाखाका प्रबन्धक खडक मडै सहित जनप्रतिनिधि, राजनीतिक दलका नेता, बुद्धिजीवि, स्थानीय सहितको सहभागितामा कामी परिवारले तत्काल बैंकमा १० लाख रुपैँया जग्गा गर्नु पर्ने, बैंकले लिलाम प्रक्रिया स्थगित गरी जग्गा कामीको परिवारको नाममा हाल्ने सम्झौता भएको छलफलमा सहभागी एमाले नेता विष्णु प्रसाद कँडेलले बताए ।

बैंकसित भएको सम्झौता अनुसार कामी परिवारले बैंकमा १० लाख रुपैँया जम्मा गरि सकेका छन् । त्यहीं सम्झौता अनुसार पैसा जम्मा भएपछि फेरि बैंकले जग्गा लिलाम प्रक्रिया अघि बढाउन लागेपछि कामी परिवार बैंकमा धर्ना बसेका छन् । वडा कार्यालयको सम्झौता विपरित बैंक लिलाम प्रक्रिया अघि बढाउन थालेपछि बैंकको मिलेमतोमा जग्गा धितो राखिएको आरोप पुष्टि हुने आधार देखिन थालेका छन् ।

एनसीसी बैैंकको महेन्द्रनगर शाखा हुँदा हुँदै अत्तरिया गएर जग्गा धितो राखेर ऋण लिएको विषय सुरुदेखि बैंक कर्मचारीको मिलमेतो भएको आशंका गरिएको थियो । जग्गा धितो राख्दा बैंकको महेन्द्रनगर शाखाका कर्मचारी तत्कालिन एनसीसीको अत्तरिया शाखामा कार्यरत भएको कर्मचारीहरु बताउँछन् ।

बैंक अहिले जसरी पनि कामी परिवारको जग्गा लिलाम गर्ने मनसायमा बनाएर हिँडेको छ । बैकको शाखा कार्यालयले जग्गा लिलामका लागि भीमदत्तका मेयर पदम बोगटीदेखि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी सबैसम्म हार गुहार गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले वडा अध्यक्ष देवकोटालाई घर बाटो सिफारिश रोक्का गरिएको मौखिक स्पष्टीकरण सोधेको केही महिना अघि सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

वडा अध्यक्ष देवकोटाले बैंकले सम्झौता अनुसार पीडित परिवारलाई जग्गा दिनु पर्नेमा विभिन्न बहाना गरेर अन्यायमा पार्न राम्रो नभएको बताए ।

अहिले धर्ना बसेका कामी परिवार पनि वडा कार्यालयमा भएको सहमति कार्यान्वयन हुनु पर्ने बताउँछन् । ‘वडा कार्यालयमा भएको निर्णय कार्यान्वयन होस, त्यो निर्णय कार्यान्वयन हुनु प¥यो, पहिले जग्गा मलाई दिने भनियो, अहिले त्यसैका नाममा हाल्ने प्रक्रिया अघि बढेको छ’ प्रकाशले भने,‘सम्झौता अनुसार जग्गा फिर्ता हुनु पर्ने भन्ने माग हो ।’

प्रकाशकी आमा राधादेबी भन्छन्,‘‘मेरो जग्गा कसरी बैंकमा पुग्यो, कसले किन राख्यो, त्यहीं जग्गा फिर्ताका लागि भनि रहेका छौ’ ‘अहिले आएर उसैको हुन्छ, मेरो जग्गा अरु कसको कसरी हुन्छ ?’

बैंकले जग्गा लिलाम गरेपछि कामी परिवारको उठीबास हुने छिमेकी गणेश बिकले बताए । अहिले जग्गाको चलनचल्ती मूल्य डेढ करोड बढी छ । बैंकले लिलाम प्रक्रिया अघि बढाएपछि केही नेता, पत्रकारले समेत जग्गा बिक्रीका लागि ग्राहकलाई देखाएका छन् ।

धर्ना बसेका प्रकाश माओवादी केन्द्रका कार्यकर्ता हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार छ । माओवादी केन्द्रका नेता र सरकारबाट आफूले अपेक्षित साथ नपाएको प्रकाशले गुनासो पोखे । ‘म पनि माओवादीको कार्यकर्ता हुँ, हामीमाथि अन्याय हुँदा खासै सहयोग पाउन सकिएको छैन’ उनले भने ।

कामी परिवारको धर्नामा भीमदत्त नगरपालिका १८ का जनप्रतिनिधि पनि सक्रियता देखाउन सकेका छैन् । जनप्रतिनिधिहरु धर्नामा आउने जाने गरेका छन् । वडाका जनप्रतिनिधिले साथ दिने आश भने कामी परिवारले मारेका छैनन् ।

कुमारी बैंकको महेन्द्रनगर शाखाका प्रबन्धक खडक सिह मडैले दुई पक्षबीच सहमति हुन नसकेपछि बैंकले कानुनी प्रक्रिया अनुसार जग्गा नामसारी प्रक्रिया अघि बढाएको बताए ।

‘वहाँहरुको सहमति भएन, सिडिओ कार्यालयमा पनि बसियो, मेयर सापसित पनि बसियो, सहमति भएन, त्यसपछि बंैकले कानुनी प्रक्रिया जाने कुरा भन्यो, अहिले त्यसै अनुसार अघि बढेका छौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...