
महेन्द्रनगर । केही वर्ष अघि काँग्रेस साँसद गगन कुमार थापा स्वास्थ्य तथा जनसंख्या मन्त्री हुँदा तत्कालिन महाकाली अञ्चल अस्पताल निरीक्षणका क्रममा उनले अस्पताललाई आफूले अस्पताल जस्तो नभएको अभिव्यक्ति दिएका थिए ।
तत्कालिन मन्त्री थापाले निरीक्षणका क्रममा अस्पतलालाई अस्पताल जस्तो नदेखेपछि अस्पताल जस्तो बनाउने र चिकित्सक दरबन्दी पूर्ति गर्ने सार्वजनिक प्रतिवद्धता गरेका थिए । थापाले आफ्नो प्रतिवद्धता त गरेन, झन अस्पतालका विशेषज्ञ डाक्टरलाई सरुवा गरि दिए ।
अस्पतालका तत्कालिन मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी र स्त्रीरोग विशेषज्ञ डा. शलिना खड््कालाई सरुवा गरी अन्यत्र पठाइएको थियो । त्यसपछि थापा चौतर्फी आलोचित हुन पुगेका थिए ।
अस्पतालमा चिकित्सक आउनै नमान्ने र आएका पनि बस्न नमानेर छिटो जाने समयमा तत्कालिन समयमा अस्पताल रिफर सेन्टरको रुपमा परिचित थियो ।
अस्पतालमा उपचार गर्न आउने अधिकाँश विरामी भारतीय सीमावर्ती सहरका अस्पतालमा रिफर हुने गरेको थियो । दरबन्दी अनुसार चिकित्सक नभएपछि अस्पतालमा विरामीको उपचार गर्न कठिन थियो । उपचारका लागि भारतीय सीमावर्ती सहर जान सक्ने आर्थिक हैसियत नभएकाले विरामी मात्रै अस्पतालमा उपचार गराउँथे ।
अहिले महाकाली अञ्चल अस्पतालमा नाम फेरिएर महाकाली प्रादेशिक अस्पताल बनेको छ । नाम फेरिएपछि अस्पतालले स्वास्थ्य सेवा प्रवाहमा अनपेक्षित फड्को मारेको छ । विशेषज्ञ चिकित्सकको अभावललाई करार सेवाबाट पूर्ति गरी अस्पतालले सेवा प्रवाहलाई सुधारको बाटोमा लगेको हो ।
महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. अर्जुन भट्टले दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नभएर सेवा प्रवाहमा समस्या हुने गरेको बताए । ‘दरबन्दी अुनुसार विशेषज्ञ डाक्टर नभएपछि सेवा प्रवाहमा समस्या भई हाल्छ’ उनले भने,‘त्यसलाई करार सेवाबाट पूर्ति गरी सेवा दिइ रहेका छौ ।’
अस्पतालमा डा. भट्ट स्थायी चिकित्सक हुन् । स्थायी चिकित्सक दरबन्दी पूर्ति हुने अवस्था नभएपछि करार सेवाबाट चिकित्सक नियुक्त गरी सेवा दिइएको हो । अहिले अस्पतालमा विशेषज्ञ सहित ३१ जना चिकित्सक छन् । विरामीको अत्यधिक चाप हुने भएकाले गुणस्तर भन्दा सबैलाई विरामीलाई हेर्ने पर्ने बाध्यता भएको मेडिकल सुपरिटेन्डेन्ट डा. भट्टले बताए ।
‘सबैले क्वालिटी सेवा भन्छन्, हामी पनि त्यसै अनुसार सेवा दिने सोच्छौ, तर दैनिक रुपमा चार सयदेखि पाँच सय विरामी आउँछन्,’ उनले भने,‘त्यस कारण क्वालिटी भन्दा सबैलाई हेर्ने पर्ने हुन्छ ।’
अस्पतालमा हरेक दिन बिहान १० देखि ३ : ०० बजेसम्म ओपिडी सेवा सञ्चालन हुने गर्छ । अस्पतालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्म १० महिनामा ७३ हजार ४ सय ५२ विरामीले ओपडि सेवा लिएका छन् । यसमा सबैभन्दा बढी साउनमा ८ हजार ४ सय ८१ र भदौमा ८ हजार २ सय ५७ विरामीले ओपीडी सेवा लिएको अस्पतालका मेडिकल रेडर्कर शान्तराज जोशीले जानकारी दिए ।
ओपीडी बाहेक आकस्मिक उपचार कक्षबाट यस वर्षको १० महिनामा ३१ हजार ७ सय ६५ विरामीलाई सेवा दिइएको छ । अस्पतालमा ब्याड भर्ना भएर ४ हजार १ सय ३२ जनाले सेवा लिएका छन् ।
केही वर्ष अघिसम्म सय बेडको यस अस्पतालका अधिकाँश शैया खाली हुन्थे । अहिले दैनिक रुपमा शैय्याहरु विरामीले भरिएका हुन्छन् ।
एक हजार ७ सय ९१ जनाको अस्पतालमा प्रसूती गरिएको छ । त्यसमध्ये २ सय १९ जनाले शल्यक्रियाबाट प्रसूती गरिएको अस्पतालको तथ्याङ्कमा छ ।
अस्पतालमा १८ हजार ७ सय ८७ जनाको एक्सरे गरिएको छ । १२ हजार ३ सय १७ जनाले अल्ट्रासाउण्ड र ५ हजार १६ जनाले इसीजी गरिएको छ ।
अस्पतालमा विरामीहरुको इण्डोस्कोपी, सर्जरी र प्लास्टर्स पनि गरिएको छ । एक हजार ३ सय ८० जनाको सर्जरी, १ सय ९ जना इण्डोस्पकोपी र १ हजार १२ जनाको प्लास्टर्स गरिएको छ ।
अस्पतालका अनुुुसार सुरक्षित गर्भपतन सेवा, पोषण पुनस्र्थापन गृह, डायलोसिस, क्षयरोग निदान, ज्येष्ठ नागरिक सेवा लगायतका सबै सेवा लिने सेवाग्राही बढेका छन् ।
अस्पतालमा यस वर्षमा हालसम्म २८ जनाले डायलोसिस सेवा लिएका छन् । यस अघि डायलोसिसका लागि कैलालीको धनगढी जानु पर्ने बाध्यता थियो । दुई वर्षदेखि अस्पतालमा डायलोसिस सेवा सञ्चालनमा आएको हो ।
महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णान्द भट्टले अस्पतालमा दरबन्दी अनुसार चिकित्सक पूर्ति नभएर सेवा प्रवाहमा सबैभन्दा ठूलो समस्या भएको बताए ।
‘यो अस्पताल महाकाली अञ्चल, महाकाली अस्पताल हुँदै अहिले महाकाली प्रादेशिक अस्पताल भएको छ, तर दरबन्दी जहाँको त्यहीं छ, अहिलेसम्म अस्पताल चिकित्सक दरबन्दी दरबन्दी सर्भेक्षण हुन सकेको छैन, पूरानो अनुसार पनि एक सय जनाको स्थायी दरबन्दी छ’ उनले भने,‘त्यसको ६० प्रतिशत रिक्त छ, अहिले अस्पतालमा एक जना मात्रै स्थायी छन्, वहाँ पनि काजमा हो ।’
स्थायी दरबन्दी पूर्ति नभएपछि २ सय ५० प्रतिशत बढी तलब सुविधा दिने गरी करार सेवा लिएर सेवा दिनु पर्ने अवस्था भएको उनले बताए ।
‘विरामीको उपचारमा एनेस्थेसिया नभई हुँदैन, दरबन्दी अनुसार नभएपछि २५० प्रतिशत बढी तलब दिने गरी करार सेवामा लिएका छौ’ उनले भने ।
सुदूरपश्चिम प्रदेश सरकारसित चिकित्सक दरबन्दी पूर्तिका लागि पटक पटक आग्रह गरिएको अध्यक्ष भट्टले बताए । ६० वर्ष अघि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल २०३१ मा २५ शैय्याको जिल्ला अस्पताल हुँदै २०४३ मा ५० शैय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर) बनाइएको थियो ।
त्यसपछि अस्पताल विकास समितिमा ५० बेड थप गरी एक सय शैय्या पुगाइएको थियो ।
