
महेन्द्रनगर । सत्ता साझेदार एमालेका ८ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष केहीबेर अघि राजीनामा दिएका छन् । चार महिनाअघि दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले आफ्नै नेतृत्वमा सरकार बनाउने नेपाली कांग्रेससँगको सहमतिपछि बुधबार सरकारबाट बाहिरिएको हो ।
संसद्को दोश्रो ठूलो दल एमालेले पहिलो दल कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको छ। कांग्रेस र एमालेले सोमबार राति आलोपालो सरकारको नेतृत्व गर्नेगरी सहमति गरेका थिए ।

ओलीले बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेलगत्तै एमालेका मन्त्रीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
उप प्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिए ।
