बाढीले ज्यान गुमाउने व्यक्तिका परिवारलाई क्षतिपूर्ति र विस्थापितलाई पुनस्र्थापन गर्न पूर्व परराष्ट्र मन्त्री साँउदको माग
महेन्द्रनगर । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य एनपी साउदले गृह जिल्ला कञ्चनपुरमा बाढीबाट ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरूलाई तत्काल पुनर्स्थापना गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको मङ्गलवार बसेको बैठकको सुरुवातमै सांसद साउदले स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै कञ्चनपुरमा बाढीले पुगाएको विपदलाई छोड्न नसकिने बताए। कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुवैको क्षति भएको उनले बताए। कञ्चनपुरमा भीषण बाढी रेकर्डको रूपमा रहिआएको उनले बताएका हुन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ रातोखाली खोलामा तीन किशोरी लक्ष्मी बोगटी सिर्जना बोगटी र आरती बोगटीको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–१ का सागर धानुकका ७ महिना छोरा सोनु धानुकको पनि मृत्यु भएको भएको छ। त्यस्तै बेलडाँडी गाउँपालिका–३ बैबाहका २३ वर्षीय डम्बर चौधरी बेपत्ता भएको उनले बताए ।
दोधारा–चाँदनी नगरपालिकामा भर्खरै एउटा महिलाको शव फेला परेको खबर आएको छ। तर पहिचान भइनसकेको सांसद साउदले प्रतिनिधि सभामा जानकारी समेत गराएका छन् ।
पुनर्वास नगरपालिका–५ ‘ग’ गाउँमा रहेको रातोखाली खोलामा १५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १६ वर्षीया आरती बोगटी बेपत्ता भएका थिए । तर तीनै किशोरी मृत अवस्थामा फेला परेका थिए। उनीसँगै गएकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छन् ।
उनीहरुलाई खाल्टोमा डुब्दै गरेको देखेका एकजना युवकले अञ्जलीको कपाल तानेर बाहिर निकालेका थिए । उनै युवकले घटनाबारे समेत जानकारी गराएका थिए । मृतक तीनै किशोरी स्थानीय गौरीशंकर माविमा अध्ययनरत थिए । उनीहरु सबै आफन्त समेत हुन् । ३ किशोरीको मृत्युपछि यतिबेला वडा शोकमा डुबेको छ ।