
सन्तोष पन्त
महेन्द्रनगर । बेलौरीमा सडक निर्माण गरेको तीन महिना नबित्दै सडक भासिन थालेको छ भने ठाउँ ठाउँमा कालोपत्रे उप्किँदै छ । बेलौरी नगरपालिका – ६ पानी ट्याङ्की देखि हात्तिबोझा जाने सडक निर्माण सम्पन्न भएको तीन महिनामै भासिएर ठाउँ ठाउँमा उप्किन थालेको हो ।
निर्माण भएको तीन महिनामै कालोपत्रे सडक यस्तो दुरावस्था हुन थालेपछि स्थानीयले विरोध गरेका छन् । स्थानीयले सडक निर्माण गर्ने ठेकेदारले कमसल सामाग्री प्रयोग गरी कालोपत्रे गरेको स्थानीयको आरोप छ । सडक भासिए र कालोपत्रे उप्किन थालेपछि स्थानीयले आइतबार विरोध गर्दै सडक अवरुद्ध समेत गरेका छन् । ‘सडकमा भएको कल्भर्ट भासिएको छ ।

पिच सडक नि टुटेको छ’ स्थानीय प्रेम भण्डारीले भने ‘सडक गुणस्तर अनुसार नभएपछि स्थानीयहरूले बिहान सडक अवरुद्ध गरेका थियौ । पछि नगरपालिकाबाट आएका इन्जिनियरले ठेकेदारको सडक मर्मतको समय अझै बाकी रहेकोले मर्मत गरिने आश्वासन पछि अवरुद्ध सडक खोलेका छौ ।’
स्थानीयले सडक निर्माण गर्दा पनि गुणस्तरीय काम नभएको भन्दै नगरपालिकालाई जानकारी दिएका थिए । सडक निर्माण गर्दागर्दै पनि गुणस्तर नभएको नगरप्रमुख पोतिलाल चौधरीलाइ जानकारी गराउँदा समेत अनुगमनमा सरोकारवाला निकायले चासो नदेखाएको भण्डारीले बताए ।
उनका अनुसार हाल सडक भासिन थालेको छ भने कालोपत्रे पनि उप्किरहेको छ । सडकको बेस राम्रो नहुँदा यो समस्या आएकोले पुनः चेक गरी सडक निर्माण गरिनुपर्ने भण्डारीको माग छ । पिच सडक हाल बिच सडकमै हातले उप्किरहेको स्थानीयको भनाइ छ ।
यता नगरपालिकाका इन्जिनियर जगदीश जोशीले सडक निर्माण सम्पन्न भएपछि होमपाइप हाल्दा गत साता आएको अविरल वर्षाले होमपाइप हालेको ठाउँमा सडक भासिएको बताए ।
‘सडक निर्माण गर्ने स्टमेटमा कल्भर्ट हाल्ने योजना थिएन’ इन्जिनियर जोशीले भने ‘रोलिङ भइसकेको सडकमा स्थानीयको माग अनुसार होमपाइप हालिएकाले गत साता आएको वर्षातका कारण सडक किनार पानी जमेको थियो । सडकमा भर्खरै नयाँ माटो भरान भएकोले पानी जम्दा जमिनको ‘सव ग्रेड लेभल’ कमजोर भएको समयमा हेभी सवारी साधन चल्दा होमपाइप हालेको ठाउँमा सडक भासिएको हो ।’
उक्त सडक कालोपत्रेको लागि आर्थिक वर्ष २०७९÷०८० मा नगरपालिकाले बेलौरी नगरपालिका –४ को पिएनबि डेभलपर्स निर्माण कम्पनीसँग २१ लाख ४५ हजार ३५० रुपैयाँमा ठेक्का सम्झौता रहेको थियो । इन्जिनियर जोशीका अनुसार ३ सय ५० मिटरको उक्त सडक वैशाखमा निर्माण सम्पन्न भएको थियो ।
इन्जिनियर जोशीले निर्माण कम्पनीलाई सम्झौता अनुसार केही रकम भुक्तानी दिइसकेको र, केही दिन बाकी रहेकाले निर्माण कम्पनीलाई तत्काल सडक मर्मत गर्न भनिसकेको बताए ।
