महेन्द्रनगर । घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको फाइनलमा पुगेको छ । नेपालले इरानलाई सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
यससँगै नेपालले यसअघि भोगेको हारको बदला पनि लिन सफल भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनल भिडन्तमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो ।
नेपालले इरानविरुद्ध पहिलो सेटमा २५–२१, दोस्रोमा २८–२६ र तेस्रोमा २५–२० को जित निकालेको हो । यस अघि समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेर इरानसँगको भेट पक्का गरेको थियो ।
नेपालले यसअघि समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । दोस्रो खेलमा उपाधि दाबेदार भारतलाई ३–२ ले हराउँदै नेपालले सेमिफाइनल यात्रा तय गरेको थियो ।
आइतबार भएको तेस्रो खेलमा नेपाल इरानसँग ३–२ ले पराजित भयो । सोमबार लिगचरणको अन्तिम खेलमा नेपालले अंकविहीन माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।