

महेन्द्रनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आगामी आवधिक निर्वाचनहरूमा गठबन्धन नगर्ने नीति लिएकोमा स्वागत गरेका छन् । गत फागुन ७ गतेदेखि १० गतेसम्म गोदावरीमा चलेको महासमिति बैठकमा कांग्रेस महामन्त्री गगन थापाले गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए ।
गठबन्धनको विषय रणनीतिक भन्दै सभापति शेरबहादुर देउवाले यो विषय निर्णय गर्ने पक्षमा थिएनन् । तर पदाधिकारीहरूसँग लगातार छलफल गरेर महामन्त्री थापाको प्रस्तावको उक्त विषय केन्द्रीय समितिबाट अनुमोदन गर्न सभापति देउवा तयार भएका थिए ।


गत आइतबारको केन्द्रीय समिति बैठकले आफ्नै तागतमा निर्वाचनहरू लड्ने निर्णय गरेको थियो । ‘हाम्रो आफ्नो सङ्गठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनर्स्थापित गर्नेछौं । हामी भविस्यमा हुने आवधिक निर्वाचनहरुमा आफ्नै तागतमा एक्लै लड्ने छौँ । र हाम्रा मतदातालाई रुख चुनावी चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,झ महामन्त्री थापाको सांगठनिक प्रस्तावको यो विषय केन्द्रीय समितिबाट पारित भएको हो ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कांग्रेसको यही निर्णयको मंगलबार च्यासलमा बसेको पोलिटब्युरो बैठकमा स्वागत गरेका हुन् । एमाले पनि एक्लाएक्लै चुनाव लड्ने र गठबन्धन नगर्ने नीतिको पक्षमा रहेको अध्यक्ष ओलीले बताएको एक पोलिटव्युरो सदस्यले जानकारी दिए ।
‘एक्लै चुनाव लड्ने कांग्रेसले जुन निर्णय गरेको छ, यो निकै स्वागतयोग्य कुरो हो । वास्तवमा हामी पनि चुनावअगाडिको गठबन्धनको पक्षमा छैनौं । एमाले एक्लै चुनाव लड्ने गरी तयार गर्नु पर्छ,’ अध्यक्ष ओलीका भनाइ उद्धृत गर्दै ती पोलिटव्युरो सदस्यले भने ।
