

महेन्द्रनगर । नेकपा एमालेले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले अन्तरमनबाट दान गरेको जग्गा स्वीकारेको बताएको छ । पार्टी कार्यालय भवन निर्माणमा विवाद उत्पन्न भएपछि एमालेले बुधबार विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो ।
एमालेले गुरुङसँग कुनै लेनादेना नरहेको र विचाराधीन मुद्दाको भागिदार पनि उनी स्वयं हुने बताएको छ। ’अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं । यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन । उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूको बारेमा उहाँ आफैंले फेस गर्ने हो । संविधान, कानुनभन्दा माथि कोही पनि छैन,’ केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक रहेको एमालेले जनाएको छ । ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लान्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भर्त्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले भाटभटेनीका मालिक गुरुङ विद्यार्थीकालमा अनेरास्ववियुमाका सक्रिय कार्यकर्ता रहेको बताएको छ । त्यसपछि पनि विभिन्न ट्रेड युनियनमा एमाले निकट रहेर काम गरेको एमालेको दाबी छ ।
’स्मरणर होस्, निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ,’ विज्ञप्तिमा भनिएको छ।
