महेन्द्रनगर । कृषिमा प्रयोग हुने उपकरण मर्मत गर्न दक्ष जनशक्ति उत्पादन गरिएको छ । पावर टिलर, मिनी टिलर, पानी तान्ने मोटर, पम्पसेट मर्मत गर्न तीन जिल्लाका २५ युवालाई तालिम दिइएको हो ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघको सहकार्यमा अमेरिकी सहयोग नियोग (युएसआइडी)को सहयोगमा स्थानीय प्राविधिकलाई कृषि तथा सिँचाइका यन्त्र मर्मत गर्ने सम्बन्धी तालिम दिइएको छ ।
आरसिटी मेसिनरी एण्ड इन्जिनियरिङ वर्कशप झलारीमा कैलाली, कञ्चनपुर र बर्दियाका युवालाई १० दिने तालिम दिइएको हो। सहभागीले कृषियन्त्र मर्मतसँगै थोपा सिँचाइ प्रविधिको प्रयोग र जडानसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हासिल गरेको संघका उपाध्यक्ष सुनिता न्हेमाफुकीले बताएका छन ।
उनकाअनुसार तालिममा २२ पुरुष र तीन महिला सहभागी थिए। तालिममा १० वटा सैद्धान्तिक र ३० वटा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो। सो अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले दक्ष बनेका युवाले किसानलाई प्रभावकारी सेवा दिनुपर्ने बताएका छन ।
मन्त्रालयबाट किसानलाई अनुदानमा २५ हजारको संख्यामा पावर टिलर र मिनी टिलर उपलव्ध गराएको उनले बताएका छन । दश हजार बढी सिँचाइका लागि प्रयोग हुने विद्युतीय मोटर र पम्पसेट समेत उपलव्ध गराएको उनको भनाई छ ।