
भीमदत्त ६ उप निर्वाचन : चुनावी घरदैलोमा एमाले उम्मेदवार चन्दले भने– हाम्रो पक्षमा लहर देखिएको छ, सबैको साथ सहयोग पाउँछु


महेन्द्रनगर । एमाले उम्मेदवार बहादुर चन्दले आफ्नो पक्षमा लहर देखिएको दावी गरेका छन् । भीमदत्त नगरपालिका ६ को उप निर्वाचन प्रचारप्रसारका क्रममा बिहीबार साँझ चुनावी घरदैलोको क्रममा उम्मेदवार चन्दले वडाका सबै वासिन्दाबाट साथ सहयोग पाउने बताएका हुन् ।
‘सबै नेता कार्यकर्ता एक ढिक्का भएर प्रचार प्रसारमा लागेका छौ, कही कतै समस्या छैन, सबै टोलमा घरदैलो गरि सकेका छौ, मौन अवघि अघिसम्म यो कार्यक्रम निरन्तर चल्छ’ उनले भने,‘अहिलेसम्म हेर्दा हाम्रो पक्षमा लहर नै चलेको छ, यसलाई कायम राख्दै नतिजा हाम्रो पक्षमा आउँछ भन्ने पूर्ण विश्वास छ ।’
भीनपा ६ का महिला, ज्येष्ठ नागरिक, बुद्धिजीवि, शिक्षक, कर्मचारी सहित सबैले घरदैलोको क्रममा साथ र सहयोग दिने आश्वासन दिएको चन्दले बताए ।
शान्ति निकेतनका पूर्व प्रधानाध्यापक चन्द एमालेबाट उप निर्वाचनका उम्मेदवार छन् । भीनपा ६ मा मंसिर १६ गते वडा अध्यक्षका लागि उप निर्वाचन हुन लागेको हो ।
उम्मेदवार चन्दले शिक्षा, स्वास्थ्य, विद्युत, सडक लगायतका वडा वासिन्दाको आधारभूत आवश्यकता लगायतका मुद्दालाई लिएर आफूले मतदातासित मत मागि रहेको बताए ।
