

–राजेन्द्र बहादुर चन्द
प्रायः जसो उहिले उहिले लोक सेवा आयोगको परीक्षामा र विभिन्न ठाउको हाजिरी जवाफ प्रतियोगितामा सोधिने एउटा प्रश्न थियो । नेपालको टापु भनेर चिनिने ठाउँ कुन हो भनेर, जसको सहि उत्तर मानिने गरिन्थ्यो सुदूरपश्चिको कञ्चनपुरमा रहेको महाकाली नदी पारिका तत्कालिन दुई गा. वि. स. दोधारा र चाँदनी । जुन साच्चिकैमा टापु बनेर बसेको भू–भाग हो । जसलाई महाकाली नदी र जोगबुढा नदीले घेरेर राखेको छ ।
त्यही टापु भनेर चिनिने दोधारा चाँदनी गा. वि.स. हालका दिनमा दोधारा चाँदनि नगरपालिका बनेको छ । उक्त नगरपालिकामा बसोबास गर्ने अधिकांश जनताकोे सम्पूर्ण कारोबार ( सरकारी कामकाज बाहेकको) सबै जसो भारतको निकटर्ती सहर वनबासा खटिमातिर हुने गथ्र्यो । दोधारा चाँँदनीमा स्थानीय स्तरमा समेत भारतीय रुपयामा कारोबार हुुने गर्दथ्यो, त्यो किन त भन्दा दोधारा चाँदनीको प्रत्यक्ष सम्पर्क कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगरसंग थिएन, कारण हो महाकाली नदिमा पुल नहुनु ।
सरकारी कामकाजका लागि महेन्द्रनगर आउनुु पर्दा भारतीय भूमि प्रयोग गरेर बनबासा पुल हुँदै गड्डाचौकी नाका भएर महेन्द्रनगर पुग्नु पर्ने बाध्यता थियो । जहाँ एउटा सानो कामका लागि पनि दोधोरा चाँदनीका वासिसन्दाले पूरा दिन खर्चिनु पर्ने बाध्यता थियो । समयले कोेल्टे फेर्याे, करिब दुई दशक अगाडि मात्रै नेपाली ईन्जिनियरले एउटा झोलुङ्गे पुलको डिजाइन गरे, जुन मल्टि स्पान सस्पेन्सन ब्रिजका रुपमा। जुुन ब्रिजले केवल दोधारा चाँदनी वासिलाई कञ्चनपुर जिल्ला सदरमुकामसंग मात्रै जोड्ने काम गरेन कि यस क्षेत्रमा एउटा पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्य नै बनेर उभिएको छ । संसारमा यस्ता ब्रिजहरु थोरै मात्रै छन, ती मध्ये महाकालीको झोलुङ्गे पुल आफैमा एउटा नमू्ना मात्रै नभई एशियाकै लामो झोलुङ्गे पुलका रुपमा परिचित हुन गएको । जुन पुल अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटकको घुँइचो लाग्ने गर्दछ ।पुलको लम्बाइ करिब डेढ किलोमिटर रहेको छ । हेर्नका लागि पनि निकै सुन्दर र आकर्षक देखिने गर्दछ । अझै त्यस ठाउँबाट बिहानको सूर्याेदय र साँझको सूर्यास्तको समयमा फोटो खिच्नेको भिड झनै बाक्लोे रहने गर्दछ।


झोलुङ्गे पुल मात्रै बनेर दोधारा चाँँदनीलाई महेन्द्रनगरँंग नजोडेर दोधारा चाँदनीका व्यापारीले नेपालकै बजारबाट सामान लगेर व्यापार गर्न थाले, फल स्वरूप दोधारा चाँदनिमा नेपाली रुपैँयामा कारोबार हुन थाल्यो । तर उक्त झोलुङ्गे पुलमा क्षमता भन्दा बढी भार बोकेका बाईक साईकल आदिको कारणले पुलका नटबोल्ट फुस्किने, बिचमा रहेका फलाम भाचिने , दायाँबायाँ तर्फको जालि चुडालिने काम भएको देखिन्छ । यस्तो नमुुना पुलको पुर्ण रुपमा दुबै नगरपालिका भीदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका मिलेर मर्मत सम्भार गरेर रंगिबिरङ्गि लाईटद्वारा सजाउने र अझै आकर्षक बनाउनेतर्फ लाग्नु पर्ने देखिन्छ ।
महाकाली नदीमा फोर लेनको पक्की पुल सञ्चालनमा आई सकेको हँुदा झोलुङ्गे पुलबाट गरिने( बाईक, साईकल मा सामान सहितको) ओहोरदोहोर पूर्ण रुपमा बन्द गरी पुललाई केवल पर्यटकीय गन्तव्यका रुपमा संरक्षण गर्दै दुबै नगरपालिकाले यसबाट लाभ लिनु पर्छ ।
महाकालीमा बनेको झोेलुङ्गे पुलसंगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्न, बेदकोट ताल, झिलमिला ताल, भम्केनी धाम, बिष्णु मन्दिर ,शिव मन्दिर , प्राचीन सिद्धबाबा मन्दिरको दर्शनका लागि आउने पर्यटकका लागि महेन्द्रनगर बजार सहितका क्षेत्रमा केही स्तरिय होटेल छन्, तर यति मात्रै प्रयाप्त होईनन् । यस्ता स्तरिय होटेल लगायतका क्षेत्रमा अझै लगानी भित्र्याउनका लागि नेपाल सरकारले विशेष सुविधा दिने गरी निजी लगानीलाई यस क्षेत्रमा आउनका लागि मार्ग प्रशस्त गरि दिनु पर्छ । निजी क्षेत्रमा लगानी बढ्ने बित्तिकै बेरोजगारी कम हुने कुरामा दुई मत छैन ।
साथै महेन्द्रनगरमा पुनः निर्माण भईरहेको मझगाउँ विमानस्थलको सञ्चालनसंगै यस ठाउँको पर्यापर्यटनमा उल्लेखनीय सुधार हुने निश्चित छ । जुन समग्र कञ्चनपुर जिल्ला र सुदूरपश्चिम प्रदेशका लागि नै सुखद पक्ष रहने छ । यसका लागि स्थानीय सरकार सरोकावाला सबै लाग्नु पर्ने र जाग्नु पर्ने देखिन्छ ।
(लेखक मझगाउँ विमानस्थल पुनः सञ्चालन समितका सचिव तथा हाम्रो शुक्लाफाँटा अभियानका अभियन्ता हुन् )
