

महेन्द्रनगर । एमालेको बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्वउपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको छ ।

एमालेले सो निर्णय गरेसँगै रावलले आफू विचलित नहुने बताएका छन्। ‘मलाई कारबाही गर्ने ओली प्रवृत्तिको निरन्तरता हो, यसबाट म विचलित हुन्नँ,’ उनले भने ।
ओलीको निर्णय अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र तानाशाही भएको समेत उनले टिप्पणी गरेका छन् । ‘केपी ओली राष्ट्र, राष्ट्रियता, देशभक्तिको आवाजबाट आत्तिएर उनले मलाई कारबाही गरेका हुन्,’ उनले भने । उनले अगाडि थपे, ‘विगतका कम्युनिस्ट पार्टीले प्रतिक्रियावादीहरूसँग साँठगाँठ गर्दै पदका लागि जोसँग पनि सम्झौता गरिरेहका छन् ।’
पूर्वउपाध्यक्ष रावलले लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेका थिए।
