ghar sansar

मन्त्री थापाले यसरी रोक्दै छन् सुदूरपश्चिममा कृषि अनुदानका विकृति

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बीर बहादुर थापाले अनुदान वितरणका विकृति रोक्न सबै पक्षको साथ खोजेका छन् । उनले मन्त्री भएपछि अनुदानका वितरणलाई पारदर्शी बनाउने कार्यलाई प्रांथमिकता दिएर अघि बढेका छन् ।

‘अनुदानका लागि कमिसन दिने लिने कुरा धेरै सुनिन्छ, म त्यसको खोजी गर्दैछु, कहाँबाट कसले यो कमिसन खान्छ, तपाईहरुले पनि यसमा सहयोग गर्न जरुरी छ’ मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उनले भने,‘कमिसन खान्छन् मात्रै भनेर भएन, तपाई पत्रकार साथीहरुले यसबारे लेखि दिनु परो, यसका गलत पक्षबारे कुरा उठाई दिनु परो, यो अनुदानका विकृति कसरी रोक्न सकिन्छ भनेर म तपाई पत्रकार साथीहरुलाई छानबिन गरी सहयोगका लागि आग्रह गर्छु ।’

मन्त्री थापाले आफूलाई नै बाजुरामा स्थानीयले मन्त्रीलाई नै कमिसन दिएर अनुदान लिएको कुरा उठाएपछि आफूले मञ्चबाट त्यसबारे धारणा राखेको उल्लेख गरे ।

मन्त्रालयले अुनदान वितरणलाई पारदर्शी बनाउन सुधारका कार्य थालनी गरिएको मन्त्री थापाले बताए । अहिले टुक्रे योजना वितरण र सिधैं फर्मलाई अनुदान दिने कार्य रोकिएको मन्त्री थापाको भनाई थियो ।

‘यस अघि सिधैं फर्मलाई पैसा दिने चलन थियो, त्यसलाई हटाएका छौ, केही बाध्यता भएर वडासम्म तोकेका छौं’ उनले भने,‘अहिले वडाबाट सार्वजनिक सूचना गरी त्यसका आधारमा निवेदन संकलन गरी यथार्थ बुझेर मात्रै अनुदान दिने गरी अघि बढेका छौ ।’

मन्त्रालयले अनुदान विकृति रोक्न किसानका लागि ब्याज अनुदान रकम बढाएको मन्त्री थापाले बताए । गत वर्ष एक करोड बजेट छुट्याइएकोमा यस वर्ष ब्याज अनुदानका लागि ५ करोड बजेट विनियोजन गरिएको छ । ‘किसानले बैंक तथा सहकारी संस्थाबाट लिएको ऋणको ८ प्रतिशत ब्याज अनुदान दिन्छौ, यसो हुँदा बैंक तथा सहकारीबाट त विना व्यवसाय गरी ऋण लिन सक्ने अवस्था हुँदैन, त्यसका लागि कार्य विधि बनाई रहेका छौ’ उनले भने ।

मन्त्रालयले अनुदान रकम घटाउने नीति लिएको उल्लेख गर्दै उनले उत्पादनमुलक कार्यक्रम अनुदान बढाउने विषयलाई प्राथमिकता दिइएको मन्त्री थापाले बताए ।

dirghayi clinic

मन्त्रालयका कामकाज पारदर्शी बनाउन मिडिया क्षेत्रलाई अनुगमनमा सहभागी गराएर अघि बढ्ने योजना बनाएको उनको भनाई छ ।

‘आज पनि तपाई पत्रकारहरु बोलाएका छौ, मन्त्रालयले गर्ने कामकाज राम्रो छ किन नराम्रो छ, त्यसबारे तपाईहरुले सही कुरा बाहिर ल्याई दिनु पर्छ, राम्रो छ भने राम्रो भनि दिनु प¥यो, नराम्रो छ, कमीमजोरी छन् भने त्यसलाई पनि मिडियबाट बाहिर ल्याई दिन प¥यो’ उनले भने,‘अब अनुदान वितरण गरिएका ठाउँमा मिडियालाई पनि संगसंगै लगेर अनुगमन गराउँछौ ।’

मन्त्रालयको दुई दिने समीक्षाबाट तीन महिने प्रगतिबारे जानकारी लिने र छलपलल गरी आगामी कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने मन्त्री थापाले बताए ।

भीमदत्त नगरपालिका १६ मझगाउँस्थित सुरु दुई दिने समीक्षा गोष्ठीमा मन्त्रालय मातहत विभिन्न २८ कार्यालयका अधिकारीहरु सहभागी भएका छन् ।

उद्घाटन कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक खगेन्द्र शर्मा र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अधिकारीले तीन महिने प्रगति प्रस्तुत गरे ।

मन्त्रालयका सचिव यज्ञराज जोशीले प्रदेश सरकार बनेपछि कृषि, पशु सेवा क्षेत्रमा अनपेक्षित प्रगति भएको उल्लेख गर्दै कमीकमजोरी सुधार गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।

उनले युवा पलायनको असर कृषि र पशुपन्छी क्षेत्रमा परेकाले त्यसलाई रोक्न गम्भीर रुपमा छलफल हुनु पर्ने आवश्यकता औंल्याए ।
‘अहिले युवा पलायन बढ्दो छ, म त यसलाई नै पलायन भन्छु’ उनले भने,‘यसमा हामी कहाँ चुकेका छौ, राउण्ड टेबल छलफल गर्नु आवश्यक छ ।’

सुदूरपश्चिममा कृषि पेशामा ८४ प्रतिशत वासिन्दा भए पनि अहिले यसमा केही घटेको बताए । सुदूरपश्चिम प्रदेशले धान, गहुँ, उखु र ओखरमा राष्ट्रिय उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सचिव जोशीले बताए ।

उनका अनुसार सुदूरपश्चिम धानमा तेस्रो, गहुँमा पहिलो, उखुमा तेस्रो र ओखरमा पहिलो स्थानमा छ । सुदूरपश्चिममा ३८ प्रतिशत ओखर उत्पादन हुने गरेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...