
भेरिएसन स्वीकृत नभएको भन्दै ठेकेदार कम्पनीले पहुँच मार्ग भत्काएपछि महाकाली नदी चार लेन पुल हेर्न आए मन्त्री दाहाल र लेखक
महेन्द्रनगर । गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले शनिबार महाकाली नदीमा निर्माणाधिन चार लेनको स्थलगत निरीक्षण गरेका छन् । पुल निर्माण ठेकेदार कम्पनीले भेरिएसन स्वीकृत नभएपछि पुल बन्द गर्न खोजेपछि दुबै मन्त्री आएका हुन् । उनीहरुले पुल सहित निर्माणाधिन पहुँच मार्ग, पोखरी, पोखरी गाइडबन्धको निरीक्षण गरे ।
महाकाली पुल योजना कार्यालयले केही महिना अघि चौथो भेरिएसन स्वीकृितका लागि भौतिक पूर्वाधार मन्त्रालयमा पठाएको थियो । सरकार फेरबदलका कारण भेरिएएसन स्वीकृत नभएपछि ठेकेदार कम्पनीले गत महिना पहुँच मार्ग खनेर सडक अवरुद्ध गर्ने प्रयास गरेको थियो ।

ठेकेदारले भेरिएसन स्वीकृत नभएको कारण देखाउँदै ठेकेदार कम्पनीले पुलको बाँकी काम र बाढीले भत्किएको गाईड बण्ड लगायतका कुनै पनि काम नगर्ने धम्की दिएको थियो । ‘कारण अरु नि छन, तर मुख्य कारण भेरिएसन स्वीकृत नभएकाले कुनै काम गर्न सकिदैन भनेर भनेको छ, यो एक हिसाबले धम्कीकै भाषा हो’ महाकाली पुल योजना कार्यालयका एक अधिकारीले भने,‘अब विभागीय मन्त्री नै आउनु भएपछि केही हल निस्कन्छ भन्ने आश छ ।’
बाढीले भत्काएको गाइड बण्डलाई देखाएर भेरिएसन स्वीकृत नहुने भयले ठेकेदार कम्पनी पछिल्लो पटक पहुँच मार्ग खनेर गैर कानुनी दबावमा लागेको थियो । त्यसपछि गृहमन्त्री लेखकले पूर्वाधार मन्त्री दाहाललाई ल्याएर पुल निर्माण विवाद सुल्झाउन खाजेका हुन् । चौथो भेरिएसन ६५ करोड बढी रकम भएको पुल योजना कार्यालयको भनाई छ ।
बाढीले भत्काएको तटबन्ध बनाउन तटीय क्षेत्रका स्थानीयले दबाव दिँदै आएका छन् । भौतिक पूर्वाधार मन्त्रालयले बाढीले भत्काएको तटबन्ध अध्ययनका लागि गत महिना प्राविधिक टोली पठाएको थियो ।
अहिले ठेकेदार कम्पनी कुमार सिएसीसी जेभिसित अन्तिम पटकका लागि थप गरिएको म्याद पनि चार महिना अघि सकिएको थियो । यसपछि ठेक्का म्याद थपका लागि पनि मन्त्रि परिषद्बाट स्वीकृत हुनु पर्नेछ ।
२०७४ मा तीन वर्षमा निर्माण कार्य पूरा गर्ने सम्झौता गरी पुल निर्माण कार्य सुरु भएको थियो । सात वर्षसम्म निर्माण पूरा हुन नसकेपछि फेरि म्याद थप प्रक्रिया अघि बढेको छ ।
शनिबार गृहमन्त्री लेखक सहित भौतिक पूर्वाधार दाहालसंगै सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल, सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, सुदूरपश्चिम प्रदेश सभासदस्यहरु प्रकाश रावल, बेल बहादुर राना, मधु भारती, भीमदत्त नगरपालिका मेयर पदम बोगटी, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बु लगायतले निरीक्षण गरे ।
निरीक्षणपछि दोधारा चाँदनीतर्फको पहुँच मार्गमा औपचारिक कार्यक्रम गरियो । कार्यक्रममा महाकाली पुल योजना कार्यालयका प्रमुख ईन्जिनियर विवशबाबु सदादेवले पुल निर्माण प्रगतिबारे जानकारी दिँदै भेरिएसन स्वीकृत नभएर काम अघि बढ्न नसकेको बताए ।
पूर्वाधार मन्त्री दाहाल र गृहमन्त्री लेखक दुबैले पुल निर्माण कार्यलाई सहज रुपमा अघि बढाउने बताए ।
गृहमन्त्री कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री दाहाललाई विपद्को गर्भिरता बुझेर बर्षा अघि नै कामकाज अघि बढाईदिन आग्रह गरे ।
भौतिक पूर्वाधार दाहालले अध्ययन गरी मन्त्रालयले भत्किएको तटबन्धदेखिका कामकाज अघि बढाउने बताए ।
