

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिं सार्कीले देशलाई समृद्ध बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्षिकोत्सवको अवसरमा बुधबार धनगढीमा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राज्यको चौथो अंगको रुपमा लिइएको पत्रकारितामा ठूलो शक्ति हुने भएकोले सही ढंगले कलम चलाइदिएमा देशको समृद्धिमा ठूलो सहयोग पुग्ने बताए ।
राससप्रतिको जनविश्वास उहिलेदेखि अहिलेसम्म यथावत् रहेको सो विश्वास कायम गर्न राससको समाचार सेवा उत्कृष्ट रहेको मन्त्री सार्कीको भनाइ थियो ।
सूचना प्रविधिको विकाससँगै सकारात्मक र नकारात्मक कुरा देखिएकोले प्रविधिको प्रयोग गरेर पनि समृृद्धिमा लाग्नु पर्ने बताए ।
मन्त्री सार्कीले राससको भवन निर्माणका लागि प्रदेश सरकारले रु. ७० लाख बजेट विनियोजन गरेको सो बजेट कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।

यसैगरी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव वसन्तप्रसाद कोइरालाले सूचनाको हकलाई ओझेलमा राखेर प्रजातन्त्र र जनताको समृद्धि नहुने बताए । पत्रकारिता र पत्रकारको सम्मान भएमात्रै लोकतन्त्र र प्रजातन्त्र फस्टाउने बताए ।
सूचनाको हक ओझेलमा पार्दा समृद्धि आउन नसक्ने बताउँदै उहाँले राससले आफ्नो विश्वसनीयता कायम गर्न सफल भएको बताउनुभयो । उहाँले समयक्रमसँगै भाषा, संस्कृतिको संरक्षणमा राससको योगदान ठूलो रहेको बताए ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले राससले नकारात्मकभन्दा सकारात्मक समाचार दिनु प्रशंसनीय कार्य रहेको बताए ।
नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष भरतबहादुर शाहले रासस समाचारको बैंक भएकोले राससका समाचार सत्य तथ्य र विश्सनीय हुने गरेको बताए । रासससहितका सञ्चार माध्ययमले कुरुती बेथितीका विरुद्ध कलम चलाउनुपर्ने बताए ।
रासस सुदूरपश्चिम प्रमुख सिद्धराज भट्टले आगामी दिनमा राससले थारु र डोटेली भाषामा समाचार दिने जमर्को भइरहेको बताउनुभयो । कार्यक्रममा राससका उत्कृष्ट समाचारदाता तिलक ओझालाई सम्मान गरिएको थियो ।

