

महेन्द्रनगर । प्रदेश सचिव बनाउने आश्वासन दिएर अध्यक्षमा रोकिएका प्रेस चौतारीका निवर्तमान जिल्ला अध्यक्ष लक्ष्मण पन्त चौतारीको प्रदेश कोषाध्यक्ष भएका छन् ।
धनगढीमा सम्पन्न प्रेस चौतारीको प्रदेश अधिवेशनबाट पन्त कोषाध्यक्ष चयन गरिएका छन् । बिहीबार प्रेस चौतारी कञ्चनपुरको आठौं अधिवेशनमा उनलाई प्रदेश सचिव बनाउने आश्वासन दिएर उनको उम्मेदवारी फिर्ता नगरी मदन गिरीको नेतृत्वमा जबरजस्ती जिल्ला समिति घोषणा गरिएको थियो ।

प्रेस चौतारी र एमाले कञ्चनपुरका नेताले पन्तलाई अध्यक्षमा रोक्न दुई दिनसम्म सहमति गर्ने भन्दै छलफल गरेका थिए । अध्यक्ष मण्डलले निर्वाचन समितिलाई जिम्मा दिएपछि निर्वाचन समितिले पन्तको उम्मेदवारी यथावत राखेर नयाँ समिति घोषणा गरेको थियो ।

निर्वाचन समितिले पन्तलाई प्रदेश प्रतिनिधि घोषणा गरेको थियो । नयाँ समिति घोषणापछि चौतारीमा विवाद चर्र्किएपछि चौतारीका अगुवाले पन्तलाई प्रदेश सचिव बनाउने सहमतिमा नयाँ समिति घोषणा गरिएको बताएका थिए ।
अहिले अधिवेशनमा दिइएको आश्वासन विपरित पन्तलाई कोषाध्यक्ष बनाइएको छ ।
चौतारीको प्रदेश अधिवेशनबाट ६ प्रदेश सचिव चयन गरिएका छन् । प्रदेश अध्यक्षमा नरेन्द्रसिंह कार्की चयन भएका छन् । यसैगरी उपाध्यक्ष (खुल्ला) मीन ठकुरी, उपाध्यक्ष (महिला) कल्पना बोहरा, महासचिव भानुभक्त आचार्य, कोषाध्यक्ष लक्ष्मणदत्त पन्त सचिवहरु लोकेन्द्र बहादुर ओझा, अमरराज भटराई, दिपकराज जोशी, खेम ढुङ्गाना, मदन विक, गीता चौधरी चयन भएका छन् ।
समितिमा विरेन्द्र भट्ट, शेर बहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह बिष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित बि.क, उमेश सिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुका कुमारी परियार, भरत साउद (आलोक), बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड, धन बहादुर वि.क. र वेदप्रकाश ओली सदस्य छन् ।

