
महेन्द्रनगर । उपाध्यक्ष जिम्मेवारी सम्हालेपछि हालसम्म कार्य बाहक अध्यक्षको जिम्मेवारी नदिएका बेलडाँडी गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाले उपाध्यक्ष शान्ति नाथलाई मलखाद वितरण व्यवस्थापन समिति संयोजकबाट अलग गर्न खाजेका छन् ।
अध्यक्ष रानाले नाथलाई समितिबाट हटाउन दुई महिना अघि कार्यपालिकाबाट वडा अध्यक्षलाई जिम्मा दिने विवादित निर्णय गराएका छन् । कार्यपालिका बैठकमा उपाध्यक्ष नाथले विरोध गरेकी थिइन् ।

गाउँपालिकाका प्रवक्ता गज बहादुर विष्ट सहितको साथ पाएका अध्यक्ष रानाले बैठकबाट जबरजस्ती निर्णय गराएको सहभागीहरुले बताए ।
स्थानीय तह निर्वाचनपछि गाउँपालिका अध्यक्ष राना र उपाध्यक्ष नाथबीच मतभेद छ । काँग्रेसबाट निर्वाचित उनीहरु दुबै काँग्रेस संस्थापन इतर समूह विष्ट समूहका हुन् । विष्ट सुदूरपश्चिम प्रदेश सभा सदस्य छन् । विवाद विष्टसम्म पुगेको छ ।
बेलडाँडी गाउँपालिका स्रोतका अनुसार गत वर्ष उपाध्यक्ष नाथले गैर वासिन्दालाई मलखाद बिक्री गरेपछि एक सहकारीलाई कारवाही गरेकी थिइन् । त्यही सहकारीको सट्टामा गाउँपालिका कार्यपालिकाका कार्यपालिका सदस्य आफैले मलखाद बिक्रीका लागि अनुमति मागेपछि उपाध्यक्ष नाथले अस्वीकार गरेकी थिइन् ।
त्यसपछि ती कार्यपालिका सदस्यले गाउँपालिका अध्यक्ष रानासित मिलेर उनलाई समिति संयोजकबाट हटाएर वडा अध्यक्षलाई मलखाद सिफारिशको जिम्मा दिने निर्णय कार्यपालिकाबाट गराएका छन् । त्यसमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर ऐरीले साथ दिएका छन् । प्रमुख प्रशासकीय अधिकृतले आफूलाई कार्यपालिका निर्णय दिन समेत ऐरीले आनाकानी गर्दै आएको उपाध्यक्ष नाथले बताउँदै आएकी छन् ।
पछिल्लो पटक उपाध्यक्ष नाथले मलखादका लागि सहकारीलाई सिफारिश गरेपछि गाउँपालिका प्रवक्ता गज बहादुर विष्ट उनी विरुद्ध खुलेर लागेका छन् । उपाध्यक्ष नाथ विरुद्ध लेटरप्याड दुरुपयोगको आरोप लगाउँदी उनले गाउँपालिकामा निवेदन दिएका छन् ।
काँग्रेसका बेलडाँडी सभापति विष्ट वडा नं. १ का वडा अध्यक्ष हुन् । उनले नाथलाई कारवाही नभए राजीनामा दिने चेतावनी दिएका
छन् । गाउँपालिका अध्यक्ष राना काँग्रेस कञ्चनपुरका उप सभापति हुन् । २०७९ मा शिक्षण छाडेर राना काँग्रेसबाट अध्यक्ष चुनाव लडेका हुन् ।
उपाध्यक्ष नाथले केही महिना अघि गाउँपालिकामा जिम्मेवारी पाएपछि हालसम्म कार्य वाहकका जिम्मेवारी नदिएको बताएकी थिइन् ।
