
महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई निर्माणाधिन मझगाउँ विमानस्थल निरीक्षण गराउन मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिले राजनीतिक दलका नेताहरुसित पहल गरेको छ ।
समितिका सचिव राजेन्द्र चन्दले गृहमन्त्री रमेश लेखक, कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का पूर्व साँसद डा. दिपक प्रकाश भट्ट, एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा लगायतका नेताहरुसित प्रधामन्त्री ओलीलाई विमानस्थल निरीक्षणका लागि पहल गरि दिन आग्रह गरेका छन् ।

समिति सचिव चन्दले पूर्व साँसद भट्टलाई फोन गरी निरीक्षणका लागि पहल गरि दिन आग्रह गरे । २०७४ मा भट्ट साँसद भएपछि मझगाउँ विमानस्थल निर्माण कार्य अघि बढेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वन क्षेत्रसम्म धावनमार्ग विस्तारका लागि जग्गा विवाद भएपछि निर्माण कार्य रोकिएको छ । डा. भट्टले प्रधानमन्त्रीलाई निरीक्षणका लागि आफूले पहल गर्ने आश्वासन दिएको सचिव चन्दले बताए ।
डा. भट्ट प्रधानमन्त्री ओलीको दल एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् । गृहमन्त्री रमेश लेखकले फोन नउठाएपछि उनलाई सचिव चन्दले एसएमएस पठाएका छन् । २०७९ को आम निर्वाचनमा कञ्चनपुुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित लेखक आफ्नो कार्यकालमा विमानस्थल सञ्चालनका लागि पहल गर्दै आएका छन् । गृहमन्त्री लेखकले आम निर्वाचनमा मझगाउँ विमानस्थल सञ्चालनलाई प्रमुख चुनावी एजेण्डा बनाएका थिए ।
लेखक हाल सुदूरपश्चिम भ्रमणमा छन् । काँग्रेस केन्द्रीय सदस्य लेखक डडेल्धराको जोगबुडामा भएको साहित्य सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम आएका थिए ।
मझगाउँ विमानस्थल पुनःसञ्चालन समितिका सचिव चन्दले आफूहरुले एक मिनेट भए पनि प्रधानमन्त्रीलाई विमानस्थल निरीक्षणका लागि पहल गराई दिन आग्रह गरिएको बताए । उनले निरीक्षण गर्न सक्ने अवस्था नभए आफूहरुको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीले बुझि दिनु पर्ने चन्दले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली महेन्द्रनगर आउन लागेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहमा सहभागी हुन उनी आउन उनी कार्यक्रमपछि हेलिकप्टरबाट धनगढी फर्किने कार्यक्रम छ ।
प्रधानमन्त्रीले धनगढीमा सुदूरपश्चिम प्रदेश सभालाई विशेष सम्बोधन र धनगढी नगर सभा गृह उद्घाटन गर्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आजै धनगढीबाट काठमाडौं फर्किने कार्यक्रम छ ।
