ghar sansar

भीमदत्तका मेयर बोगटीले गरे वादीको बिचल्ली, नगरपालिका प्रवेशद्वारमा धर्ना

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले टहरा भत्काएर उठीबास लगाएपछि वादी समुदाय चार दिनदेखि नगरपालिका प्रवेशद्वारमा धर्ना बसेका छन् । भीमदत्त नगर विकास समितिले पूर्व सूचना विना आफूहरुको टहरा भत्काएर बिचल्ली बनाएको भन्दै उनीहरु आफूहरुको सोही स्थानमा व्यवस्थापन हुनु पर्ने माग सहित धर्ना बसेका छन् ।

भीमदत्त नगरपालिकाले चैत २१ गते होटेल ओपेरा नजिक वादी समुदायको वस्तीमा डोजर लगाएको थियो । नगर प्रहरीले वादी समुदायका घर परिवाकार सदस्य मजदुरी गर्न निस्केको बेला डोजर लगाएर टहरा भत्काएको थियो ।

ratnam malkhad

टहरा भत्काउन भीमदत्तको नगर प्रहरी डोजर लगेर वस्ती गएको थियो । नगर प्रहरीले उनीहरुलाई टहराभित्र सर समान समान बाहिर निकाल्न नदिई डोजर लगाएको थियो ।

टहरा भत्काएपछि उनीहरु व्यवस्थापनको माग राखेर धर्नामा बसेका हुन् । चार दिनसम्म धर्ना बसेका उनीहरुलाई नगरपालिकाले वास्ता गरेको छैन । नगरपालिका कार्यालयको प्रवेशद्वारमा कालो ब्यानर लगाएका छन् । धर्ना बसेका केही महिलाको काखमा दुधे बालक समेत छन् ।

वादी समुदायका अगुवा वसन्ती वादीले आफूहरुलाई टहराभित्रका सर समान बाहिर समेत निकाल्न नदिई डोजर लगाएको बताइन् ।

‘हामी विहानै काम गर्न बाहिर निस्केका थियौ, दिउँसो खाना खान आउने बेलामा नगर प्रहरी वस्तीमा डोजर लिएर आए, वस्तीमा पुरुष कोही पनि थिएन, आधा घण्टाभित्र गर्न भनियो, त्यो समयभित्र समान निकाल्न सक्ने अवस्था थिएन’ उनले भनिन्,‘त्यसपछि नगर प्रहरीले डोजर लगाई हाल्यो, त्यहीभित्र हाम्रा लत्ता कपडा, भाँडाकुँडा, खाद्यान्न सबै परे, अहिले हामी घरको न घाटको भएका छौ ।’

डोजर लगाएर टहरा भत्काएपछि आफूहरुको बिचल्ली भएको उनले बताइन् । वादी समुदायको भएका कारण आफूहरुले डेरामा कोठा समेत पाउने अवस्था नभएकाले उनको भनाई छ ।

‘टहरा भत्काइर्एपछि हामी कहाँ गएर बस्ने, भाडामा बस्न खोज्यो भने वादी भनेर कोठा दिँदैन’ उनले भनिन्,‘हाम्रो व्यवस्था नभएसम्म त्यही राखिनु पर्छ, नत्र यही धर्ना दिन्छौ, मरे पनि यही मरौला, अन्त जाने बाटो पनि कहीं छैन ।’

भीमदत्त नगरपालिकाले ६ महिना अघि आफूहरुलाई वस्ती खाली गर्न सूचना दिए पनि अन्त जाने अवस्था नभएकाले आफूहरु त्यहाँ बस्दै आएको उनले बताइन् । ‘हामीलाई अन्त जाने बाटो नै छैन, जग्गा जमिन नै छैन, नगर विकासको जमिन हो भन्ने कुरा त हामीलाई नि थाह छ, हामी त्यहाँ रहरले बसेका होइनौ, बाध्यताले बसेका हौ’ उनले भनिन् ।

होटेल ओपेरा नजिक तीन दर्जन बाढी समुदायका परिवार वर्षौदेखि टहरा बनाएर बस्दै आएका छन् । भूमि आयोगले उनीहरु सबैको लगत संकलन गरेको छ । धर्नामा सहभागी समुदायका अगुवा जनकराज आउजीले भूमि आयोगले जग्गा दिएसम्म आफूहरुलाई सोही स्थानमा बस्नु दिनु पर्ने बताए ।

‘आयोगले जग्गा दिँदासम्म हामीलाई त्यस ठाउँमा बस्नु दिनु पर्ने भन्ने हाम्रो माग हो, यो अवस्थामा हामी कहीकतै जान सक्दैनौ’ उनले भने,‘मरे पनि यही मर्र्छौ ।’ टहरा भत्काएपछि वादी समुदायका परिवार आउजीको नेतृत्वमा संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन् ।

उनले आफूहरुको काम गर्न निस्केको बेला आफूहरुको मानव अधिकार हनन हुने गरी घर टहरा भत्काएकाले क्षतिपूर्ति सहित बसोबास हुनु पर्ने बताए । उनले भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र ४ नम्बर वडाका वडा अध्यक्ष सुशिल कुमार भट्टले आफूहरुको मागलाई विशेष ध्यान दिनु पर्ने आग्रह गरे ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज कञ्चनपुरका अध्यक्ष राजेन्द्र आग्रीले भीमदत्त नगरपालिकाले वादी समुदायका घर टहरामा डोजर लगाउन बिडम्बना पूर्ण कार्य भएको बताए । उनले टहरा भत्काएका सबै परिवारको उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिए ।

‘यो एकदमै बिडम्बना पूर्ण कार्य हो, गरीब, दलित बस्तीमा यसरी डोजर लगाउने कार्य अमानवीय हो, यो कार्य तत्काल बन्द हुनु पर्छ’ उनले भने,‘यी सबै परिवारलाई उचित स्थानमा व्यवस्थापन गर्न म मेयरसित आग्रह गर्छु, त्यसका साथै त्यो डोजर लगाउँदा भएको सबै क्षतिको पूर्ति हुनु पर्छ ।’

वादी समुदायको व्यवस्थापन नभए मुक्ति समाज आन्दोलनमा उत्रिने अध्यक्ष आग्रीले बताए ।

Himal dental
सम्बन्धित
Loading...