
महेन्द्रनगर । सुदूरपश्चिमका पहाडी जिल्लामा असिना पानीले बालीनालीमा क्षति पुगाएपछि भोकमरीको सम्भावना बढेको छ । शनिबार दिउँसो परेको असिनाले काटेर भित्र्याउन राखिएको बालीनालीमा व्यापक क्षति पुगाएको छ ।
कृषि प्राविधिकहरुका अनुसार बालीनालीसंगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको छ । रोप्न तयार पारेका तरकारीका बेर्नाको नामोनिसान नरहने गरी नष्ट पारेपछि यहाँका किसान चिन्तित भएका छन् ।

बैतडीको पाटन नगरपालिका– ८ र ९ मा अन्नबाली तथा तरकारी खेतीमा क्षति गरेको किसानहरूले बताएका छन। सूर्नया गाउँपालिका–६ को मुसे, रौटेलगायत गाउँमा परेको असिना पानीले क्षति गरेको छ ।
किसानको पाक्न लागेको गहुँ बाली सखाप पारेपछि बर्खाको समय अब के खाने भन्दै किसानहरू चिन्तामा छन् । शनिवार दिउँसो ३ बजे मुसलधारे वर्षासँगै परेको असिना पानीले अधिकांश किसानको गहुँ बालीमा क्षति भएको हो ।
