
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले डोजर लगाएर टहरा भत्काएपछि आन्दोलित वादी समुदायले नगरपालिका प्रवेशद्वारमा धर्नालाई निरन्तरता दिएका छन् । नगरपालिकाले टहरा बनाएर भत्काएको स्थानमा अर्को व्यवस्था नभएसम्मका लागि पुनस्र्थापन गराउनु पर्ने माग सहित वादी समुदाय धर्ना बसेको छ ।
होटेल ओपेरा नजिक भीमदत्त नगर विकास समितिको जग्गामा बसेका वादी समुदायका टहरा चैत २१ गते पूर्व सूचना विना नगरपालिकाले डोजर लगाएर भत्काएको थियो । नगरपालिकाले अचानक वस्तीमा डोजर चलाएपछि उनीहरुले टहराभित्रका लत्ता कपडा, खाद्यान्न, भाँडाकँुडा लगायतका सरसमान बाहिर निकाल्न सकेनन् ।

टहरा भत्काएपछि उनीहरु संघर्ष समिति बनाएर नगरपालिका केन्द्रित आन्दोलनमा उत्रिएका छन् । धर्ना बसेका उनीहरुले सोही स्थानमा व्यवस्थापन नभएसम्म धर्ना जारी राख्ने बताएका छन् ।
आइतबार एमाले नेता महेश पन्त, विवेक भट्ट लगायतले धर्नामा पुगेर उनीहरुका माग तत्काल सम्बोधन हुनु पर्ने बताए । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पन्तले नगरपालिकाले पूर्व सूचना विना वादी समुदायका टहरा भत्काएर अमानवीय कार्य गरेको बताए । उनले वादी समुदायको अर्को व्यवस्था नभएसम्म सोही स्थानमा बस्नु दिनु पर्ने बताए ।
‘फासी दिनु पर्ने मान्छेलाई समेत उसको अन्तिम इच्छा सोधिन्छ, यहाँ त वादी समुदायका टहरा भत्काउँदा एक पटक पनि सोधिएको छैन’ उनले भने,‘जसरी डोजर लगाएर घर हटार भत्काएर बिचल्ली पारिएको छ, यो अमावनीय कार्य हो, वहाँहरुलाई सोही स्थानमा अर्को व्यवस्था नभएसम्मका लागि बसोबास गराउनु पर्छ ।’
नेता पन्तले भीमदत्तलाई डोजर आतंक बन्द गर्न आग्रह गरे । पन्त २०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । भीमदत्तका काँग्रेस कञ्चनपुरका सभापति पदम बोगटी मेयर छन् । मेयर बोगटीले चैत महिनामा गर्मी बढेपछि वादी समुदायका टहरामा डोजर लगाएर भत्काएका छन् ।
भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टले भानु पार्टी प्यालेश लगायतको क्षेत्रमा पार्क बनाउनु ठेक्का भएकाले वादी समुदायको वस्ती हटाइएको बताए ।
