
महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकको निर्देशन अनुसार निर्माणाधिन मझगाउँ विमानस्थलमा जहाज नआएपछि उनी आलोचनामा परेका छन् ।
गृहमन्त्री लेखकले गत माघमा निर्माणाधिन विमानस्थल निरीक्षण गर्दै बैशाख १ गते परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका थिए । उनको निर्देशन अनुसार जहाजको परीक्षण उडान नभएपछि लेखक आलोचनामा परेका छन् । सामाजिक सञ्जालमा गृहमन्त्री लेखकमाथि निर्देशन पालना गराउन नसकिएको भन्दै कटाक्ष गरिएका छन् ।

मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले गृहमन्त्रीको निर्देशन अनुसार आफूहरु बैशाख १ गते परीक्षण उडानको आशमा बसेको बताए ।
‘गृहमन्त्री मन्त्रीज्यूले भनेपछि हामी जहाज आउने आशमा थियौ, खै के हो अहिलेसम्म जहाज आएको छैन’ उनले भने ।
चन्दले गृहमन्त्री लेखकलाई उनको निर्देशक आफ्नो सामाजिक सञ्जालमा राखेर सम्झाएका छन् ।
‘२०८१ माघ महिनामा माननीय गृहमन्त्रीज्यूबाट पुनः निर्माण भई रहेको महेन्द्रनगर मझगाउ बिमानस्थल अनुगमन गर्दै गर्दा उहाले गरेको निर्देशन र उहाले बोल्नु भएको कुरा यहाँ उल्लेख गरिएको छ’ उनले भनेका छन् ।
जहाज नआएपछि गृहमन्त्री लेखकको सामाजिक सञ्जालमा कटाक्ष गरिइको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ज्ञानेन्द्र महताले खराब मौसमका कारण जहाज नआएको आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रमा विमानस्थल विस्तार गर्न अवरोध गरेपछि निर्माण कार्यमा ढिलाई हुन पुगेको छ । नेपाली सेनाले विमानस्थल निर्माणमा पटक पटक अवरोध केही महिना अघि गृहमन्त्री लेखकले प्रधानमन्त्री सेनापति लगायतसित छलफल गरी निकुञ्ज जग्गा समस्या समाधान भएको सार्वजनिक गरेका थिए ।
त्यसपछि गृहनगर आएका लेखकले विमानस्थल निरीक्षण गरी बैशाख १ गते परीक्षण उडान हुने गरी ठेकेदार कम्पनीलाई निर्माण पूरा गर्न निर्देशन दिएका थिए । अहिले गृहमन्त्री लेखकको त्यहीं निर्देशनले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ ।
विमानस्थल निर्माण ठेक्का प्रतिनिधि सभाका साँसद कान्छाराम तामाङ्गले लिएका छन् । उनी गृहमन्त्री लेखकको पार्टी काँग्रेसका साँसद हुन् । तामाङ्ग रामेछापबाट संसदमा प्रतिनिधि गर्छन् ।
मझगाउँ विमानस्थल गृहमन्त्री लेखकको निर्वाचन क्षेत्रमा पर्छ । गृहमन्त्री लेखक पहिलो २०५६ मा साँसद निर्वाचित हुँदा असुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द भएको थियो । त्यति बेला तत्कालिन नेकपा माओवादीको सशस्त्र द्वन्द्व उत्कर्षमा थियो ।
२०७४ को आम निर्वाचनपछि बन्द विमानस्थल सञ्चालन प्रक्रिया अघि बढेको हो । २०७४ मा लेखक एमालेका पूर्व साँसद डा. दिपक प्रकाश भट्टसित पराजित भएका थिए । उनी २०७९ को आम निर्वाचनबाट फेरि कञ्चनपुर क्षेत्र नं. ३ बाट साँसद भएका हुन् ।
आम निर्वाचनमा लेखकले मझगाउँ विमानस्थल सञ्चालनलाई प्रमुख चुनावी मुद्दा बनाएका थिए । उनी निर्वाचन क्षेत्रमा आउँदा प्रायः विमानस्थल निरीक्षणका लागि मझागाउँ पुग्दै आएका छन् ।
विमानस्थल निर्माण ठेकेदार कम्पनी आफ्नै पार्टीका साँसदको भएकाले गृहमन्त्री लेखकले निर्माण कार्य पूरा हुने आशमा निर्देशन दिएको हुन सक्ने सञ्चालन समितिका सदस्यहरुको आशंका छ । अपेक्षा अनुसार निर्माण पूरा भएर उडान हुन नसकेपछि उनी आलोचनामा तानिएका छन् ।
फागुन पहिलो साता गृहमन्त्री लेखकको पहलमा गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव, नेपाली सेनाका प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको निर्माण कार्य अघि बढाउने सहमति भएको थियो ।
बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा जग्गा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाउने विषयमा सहमति भएपछि लामो समयदेखि रोकिएको विमानस्थल निर्माणको काम अघि बढाउने विषयमा सहमति जुटेको बतनाईको थियो ।
बैठकमा गृहमन्त्री लेखक सहित वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरु सहभागी थिए ।
२०७८ माघमा विमानस्थल पुर्ननिर्माणका लागि ठेक्का भएको थियो । हाल विमानस्थलको एक हजार तीन सय मिटर रन्वे कालोपत्र गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण कार्य प्रभावित हुँदै आएको थियो ।
विमानस्थल निर्माणका क्रममा वन क्षेत्रमा पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्याङ्कन पनि गर्दै जाने विषयमा सहमती भएको छ । ’विमानस्थलका लागि आवश्यक सेनाको जग्गा (फुटबल मैदान र आवास भएको स्थान) मा सेनाले सहमति जनाएकाले तत्काल काम अघि आशा गृहमन्त्री लेखकले व्यक्त गरेका थिए ।
मझगाउँ विमानस्थल निर्माणबारे गृहमन्त्री लेखकले लामो समयदेखि सहजीकरण गर्दै आएका छन् । भीमदत्त नगरपालिकाको १५, दोधारा–चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत लगानीमा उक्त विमानस्थल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अघि बढाइएको हो ।
