

महेन्द्रनगर । बेलौरी नगरपालिका ५ का वडा अध्यक्ष लाल बहादुर चौधरी विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिममा सहभागी भएका छन् । उनी चार दिनसम्म तालिम लिने छन् ।
२०७९ को स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित चौधरी सामुदायिक विपद् व्यवस्थापन समितिमा आवद्ध छन् । उनी तालिम उद्घाटन कार्यक्रममा वडाका रुपमा आफ्नो परिचय दिए ।
गैर सरकारी संस्था पेसवानले सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी र सदस्यहरुका लागि होटेल स्वीट ड्रिममा चार दिने तालिम सञ्चालन गरेको छ । तालिममा वडा अध्यक्ष चौधरी लगायतका जनप्रतिनिधि सहभागी छन् । लालझाडी लालझाडी गाउँपालिकाका रेवती ओड सहित तीन जना वडा सदस्य पनि तालिममा सहभागी भएका छन् ।
समुदायको लागि जलवायु उत्थानशिल कार्यक्रम अन्र्तगत तालिम सञ्चालन गरिएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलको प्रमुख आतिथ्यमा तालिम उद्घाटन गरियो ।
तालिम संयोजक लक्ष्मणदत्त भट्टले गरेका छन् । रेडक्रस सोसाइटीमा कार्यरत भट्ट विपद् व्यवस्थापन तालिमका प्रशिक्षक हुन् । उद्घाटन कार्यक्रममा उनले तालिमको औचित्यमाथि प्रकाश पारे ।
तार दिने तालिमबाट सामुदायिक व्यवस्थापन समिति सदस्यहरुको क्षमता वृद्धि हुने अपेक्षा गरिएको उनले बताए ।
तालिममा सहभागीलाई विपद्का बेला उद्धार, त्यसको प्रक्रिया, पानीजन्य विपद्मा उद्धार, स्थानीय स्तरमा उद्धार सामाग्री निर्माण सम्बन्धि अभ्यास, समूहगत छलफल लगायतका कार्यक्रम गरिने तालिम संयोजक भट्टले बताए ।
तालिममा बेलौरी ५ का वडा अध्यक्ष आफैं सहभागी भएकाले तालिम उपयोग र फलदायी हुने विश्वास उनले व्यक्त गरे ।

पेसवानको समुदायका लागि जलवायु उत्थानशिल कार्यक्रम कञ्चनपुरका पाँच स्थानीय तहमा सञ्चालन गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. १, २, १९, शुक्लाफाँटा नगरपालिका १२, बेलौरी नगरपालिका ५, पुनर्वास नगरपालिका २, ३ र लालझाडी गाउँपालिकाका ६ नं. वडा बाहेक अन्य ५ वडामा कार्यक्रम सञ्चालनमा छ ।
कार्यक्रम सञ्चालन गरिएका सबै वडामा सामुदायिक विपद् व्यवस्थापन समिति छन् । कार्यक्रम संयोजक दिल बहादुर ढाँटले विपद्को जोखिमबाट सबैभन्दा बढी प्रभावित स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले तालिमबाट सहभागीहरुको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
उनी विपद् व्यवस्थापन सम्बन्धि जानकार प्रशासक हुन् । उनले विपद् न्यूनीकरणका लागि सरकारी तथा गैर सरकारी कार्यक्रम वातावरणमैत्री र नागरिक मैत्री हुनु पर्नेमा जोड दिए ।
‘यो तालिमबाट विपद् प्रतिरोध गर्ने क्षमता वृद्धि हुन्छ, त्यो भनेको विपद् सित लड्ने ज्ञान सीप प्राप्त हुन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी पोखरेले भने ।
कञ्चनपुर जिल्ला विपद्बाट सर्वाधिक प्रताडित भएकाले विपद्बारे सबैले बुझनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले उल्लेख गरे ।
‘विपद् रोकथाम गर्न सकिँदैन, तर विपद् आइसेपछि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने हो, अहिले दैनिक विपद् बढी रहेका छन्’ उनले भने,‘यो जिल्ला पनि विपद्बाट सबैभन्दा बढी प्रताडित छ, यसका लागि तपाई हामी सबैले सचेत हुनु पर्छ ।’
विपद्सित जुध्न कञ्चनपुरमा वडा, पालिका र जिल्ला स्तरमा संरचना निर्माण गरिएको उनले बताए । जिल्ला विपद् व्यवस्थापन केन्द्रले जिल्लाभरको सूचना एकीकृत गरी सम्बन्धि निकायमा पठाउने गरेको उनले बताए ।
पेसवानका अध्यक्ष तिलमाया ढकालले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै पक्षले सचेत हुनु पर्ने बताइन् ।
चार दिने तालिममा भट्ट सहित दिपराज चटौत लगायत प्रशिक्षक छन् । तालिमा सहभागीहरुलाई विभिन्न अभ्यासहरु गराइने पेसवानका दमन बहादुर चन्दले बताए ।
