
महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीका दिनेश कार्की होली फेमली इङ्गलिश मिडियम स्कुलका कक्षा ७ का विद्यार्थी हुन् । उनी क्रिकेट खेलाडी बनेर देशका लागि खेल्ने लक्ष्य सुनाउँछन् ।
होली फेमली स्पोर्टस एकेडेमीले सञ्चालन गरेको १५ दिने क्रिकेट ट्रेनिङ्ग तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रम समापन सहभागी उनले भने, ‘मलाई क्रिकेट धेरै नै मन पर्छ, यस खेलको बलिङ्ग र ब्याटिङ्ग एकमद मन पर्छ, मलाई क्रिकेट खेलाडी बनेर देशका लागि खेल्न मन छ ।’

कार्की १५ दिने क्रिकेट ट्रेनिङ्गमा सहभागी भएर बुधबार समापन कार्यक्रममा सहभागी भएका हुन् । उनले सहभागिताको प्रमाण पत्र ग्रहण गरे । उनले बलिङ्ग, ब्याटिङ्ग, क्याच, फिल्डिङ्ग लगायत सिकेको बताए ।
होली स्पोर्टस एकेडेमीले चैत २६ देखि बैशाख १० गतेसम्म क्रिकेट ट्रेनिङ्ग र तेक्वान्दो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । निःशुल्क रुपमा गरिएका ती दुबै प्रशिक्षणमा विभिन्न विद्यालयका दुई सय भन्दा विद्यार्थीले सहभागी भएका छन् ।
एकेडेमीका अनुसार तेक्वान्दोमा ८० र क्रिकेटमा एक सय ३० जना विद्यार्थी सहभागी भए । उनीहरु सबैलाई बुधबार समापन कार्यक्रममा टिका लगाएर प्रमाण पत्र प्रदान गरिएको छ ।
कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिएको छ ।
एकेडेमीका सचिव एबम् होली ग्रुफ अफ स्कुलका असिसटेन्ट मेनेजर महादेब प्रसाद भट्टको अध्यक्षतामा कर्याक्रम गरियो ।
१५ दिने निःशुल्क प्रशिक्षण कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी अन्जु राना तेक्वान्दाको सहायक प्रशिक्षक थिइन् । नर्सरीदेखि १२ कक्षासम्म होली फेमलीमा पढेकी राना हाल सुदूरपश्चिम विश्वविद्यालय बीबीएस चौथो सेमेष्टरमा अध्ययनरत छिन् ।
‘यो प्रशिक्षणमा सहभागी सबै विद्यार्थीले एकदमै राम्ररी सहभागिता जनाए, सबै सक्रिय रुपमा सहभागी भए, विद्यार्थीहरु एकदमै उत्सुक थिए’ उनले भनिन् ।
तेक्वान्दो प्रशिक्षण प्रमुख प्रशिक्षक गोबिन्द थापा सहित सहायक प्रशिक्षक राना लगायतले सहभागीलाई प्रशिक्षण दिए ।
एकेडेमीले गत वर्षदेखि निःशुल्क प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो । होली फेमली स्कुलमा एकेडेमीको क्रिकेट मैदान छ । त्यसमा प्रशिक्षण कार्यक्रम गरिएको छ ।
एकेडेमीका अध्यक्ष एबम् होली ग्रुफ अफ स्कुलका संस्थापक भुपाल सिह विष्टले खेलकूद विकासका लागि एकेडेमी स्थापना गरेका हुन् । काम विशेषले जिल्ला बाहिर भएकाले उनी बुधबार कार्यक्रममा सहभागी हुन सकेन ।
एकेडेमीका सचिव भट्टले पढाईसंगै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनका लागि एकेडेमी स्थापना गरिएको बताए ।
‘यस क्षेत्रबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौ, शिक्षासंगै खेलकूदको विकास गर्न एकेडेमी सक्रिय रुपमा लागेको छ’ उनले भने ।
एकेडेमीमा खेलाडीलाई वर्षभरि प्रशिक्षण दिइने र त्यसका लागि प्रशिक्षण नियुक्त गरिएको सचिव भट्टले जानकारी दिए ।
एकेडेमीमा प्रशिक्षण लिने खेलाडीलाई भारत सहित अन्य देशका खेलसित जोड्न पहल थालिएको उनको भनाई छ ।
समापन कार्यक्रममा क्रिकेट संघका अध्यक्ष चन्द सहित तेक्वान्दो संघ कञ्चनपुरका अध्यक्ष राजेन्द्र केसी, तेक्वान्दाको प्रमुख प्रशिक्षक मोहन प्रताप गुरुङ्ग, अभिभावक, विद्यार्थी, शिक्षक समापन कार्यक्रममा सहभागी भए । प्रशिक्षणमा सहभागी विद्यार्थीका अभिभभावक सहितले उनीहरुलाई प्रमाण पत्र वितरण गरे ।
संघका अध्यक्ष चन्दले एकेडेमीका संस्थापक विष्टले खेलकूद क्षेत्रको विकासमा पुगाएको योगदान सराहनीय भएको बताए ।
कार्यक्रममा होली फेमली इङ्गलिश मिडियम स्कुलका प्रिन्सिपल नारायणदत्त भट्टले समाज र राष्ट्रका लागि असल खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गरिएको बताए ।
हरिश सिह ठगुन्नाले कार्यक्रम सञ्चालन गरेका थिए ।
