ghar sansar

अनन्तः वादीसित झुके बोगटी, जसरी पनि व्यवस्थापन गर्ने दिए आश्वासन

janjyoti campus

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले आफैं डोजर लगाएर हटाएका वादी समुदायलाई वादी समुदायलाई  व्यवस्थापन गर्ने आश्वासन दिएका छन् । भीमदत्त नगर विकास समितिमा आइतबार वादी समुदायका अगुवासित छलफलमा मेयर बोगटीले कुनै पनि हालतमा व्यवस्थापन गरिने बताएका हुन् ।

भीमदत्त नगरपालिकाले एक महिना अघि डोजर लगाएर होटेल ओपेरा नजिकबाट वादी समुदायका टहरा भत्काएको थियो । टहरा भत्काएपछि वादी समुदाय भीमदत्त नगरपालिकामा अनिश्चितकालिन धर्ना बसेका थिए ।

western public academy

आइतबार नगर विकास समितिको बैठकपछि उनीहरुसित छलफल गरिएको छ । मेयर बोगटी बैठकमा सहभागी भएपछि वादी समुदायले नगर विकास कार्यालय घेराउ गर्न पुगेका थिए । बैठकपछि वादी समुदायका अगुवासित छलफल गरी मेयर बोगटीले व्यवस्थापन गर्ने आश्वासन दिएका हुन् ।

‘वादी समुदायको समस्या थाह छ, वर्षा अघि नै म जसरी पनि व्यवस्थापन गर्छु भनेर मेयर सापले भन्नु भयो’ बैठकमा सहभागी वादी समुदायका अगुवा शिवीराज रानाले भने,‘वहाँले आफ्नो भनाई अनुसार व्यवस्थापन हुन्छौ भन्ने आशावादी छौ ।’

मेयर बोगटीले वादी समुदायको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोगसित पनि छलफल गरी अघि बढ्ने जानकारी गराएको रानाले बताए ।

कञ्चनपुरमा गत महिनादेखि आयोगको कामकाज फेरि अघि बढेको हो । मेयर बोगटीले वादी समुदाय व्यवस्थापनलाई प्राथमिकता दिन आयोगलाई आग्रह गर्ने छलफलमा बताए । आयोगले प्राथमिकता दिए वादी समुदायले छिट्टै पूर्जा पाएर व्यवस्थापन गर्न सकिने मेयर बोगटीको भनाई थियो ।

छलफलमा वादी समुदायका अगुवाले वर्षा याम सुरु भइ सकेकाले तत्काल व्यवस्थापन गर्न पर्नेमा जोड दिए । उनीहरुले सिटी हल आशपास क्षेत्रमा अस्थायी बसोबासका लागि मेयरलाई आग्रह गरे । मेयर बोगटीले स्थायी बसोबास हुने गरी आफूले व्यवस्थापन गर्ने आश्वासन दिए ।

बैठकमा टहरा भत्काइएका परिवारलाई भीमदत्त नगरपालिका ९ ब्रह्मदेबको जमुनाभाडीस्थित खाली जमिनमा व्यवस्थापन गर्ने विषयमा पनि छलफल भएको छ ।

dirhayu

जमुनाभाडीमा वादी समुदायको वस्ती छ । वस्ती नजिक तीन चार बिगाहा जमिन छ । भीमदत्त नगरपालिकाले यस जमिनलाई केही वर्षदेखि संरक्षण गर्दै आएको छ ।

वादी समुदायका अगुवा रानाले आफूहरुले मानवीयताका आधारमा वर्षा याम अघि नै व्यवस्थापन गर्न मेयर बोगटीसित आग्रह गरिएको बताए ।

बैठकमा मेयर बोगटी सहित भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष सुशिल कुमार भट्ट र भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम लगायत सहभागी थिए । छलफलसम्म वादी समुदायले नगर विकास कार्यालय घेराउ गरेको थियो ।

चैत २१ गते टहरा भत्काएपछि नगर पीडित संघर्ष समिति गरी उनीहरु भीमदत्त नगरपालिकामा अनिश्चितकालिन धर्ना बस्दै आएका थिए ।

नगरपालिकाले आफ्नो मागप्रति वास्ता नगरेको भन्दै बैशाख १४ गते वादी समुदायका महिलाले अर्धनग्न प्रदर्शन गरेका थिए ।

अर्धनग्न प्रदर्शनपछि भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमको कार्यकक्षमा अगुवासित छलफल गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत बमले मेयर बोगटी लगायतसित छलफल गरी समस्या समाधान गर्ने आश्वासन दिएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले नक्षत्र पार्क बनाउन ठेक्का खोलेपछि वादी समुदायका टहरा डोजर लगाएर भत्काएको थियो । भीमदत्तको नगर प्रहरीले टहराभित्रका समान समेत बाहिर ल्याउन नदिएर टहरा भत्काएको थियो ।

वादी समुदायले टहार भत्काएपछि भएको क्षतिपूर्ति समेत माग गर्दै आएको छ । होटेल ओपेरा नजिक नगर विकास समितिको जग्गामा २०५२ सालदेखि ४० भन्दा बढी परिवार बस्दै आएका छन् । टहरा भत्काएपछि उनीहरु विकल्प नभएर सोही स्थानमा त्रिपाल हालेर बसेका छन् ।

नगर विकास पीडित संघर्ष समितिका संयोजक वसन्ती वादीले टहरा भत्काएपछि आफूहरुको बिचल्ली भएको बताइन् । ‘हाम्रा टहरा भत्काएर बिचल्लीमा पारेका छौ। पानी आएपछि कहाँ बस्ने, राति त्यस्तै समस्या छ, सर्प किराको सबै डरको छ’ उनले भनिन् ।

Himal dental
सम्बन्धित
Loading...