
महेन्द्रनगर । सांसद तारालामा तामाङले कञ्चनपुरका हरिकिसन राना र रामरेसर राना मृत्यु प्रकरणको सुक्ष्म अनुसन्धानको माग गरेका छन् ।
बुधवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङले वैशाख ९ गते बेलौरी नगरपालिका–१०, शिवनगरस्थित निर्मल शारदा आर्यघाटनजिकै पूर्ण रूपमा जलेर मृत फेला परेका बेलडाँडीका ५० वर्षीय हरिकिसन राना र वैशाख १७ गते मृत फेला परेका लालझाडी गाउँपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय युवक रामरेसर रानाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी सत्यतत्थ्य बाहिर ल्याउन सरकार सँग माग गरेका हुन् ।

जलेर मृत फेला परेका बेलडाँडीका रानाको १५ दिन बितिसक्दा समेत वास्तविकता बाहिर आउन सकेको छैनन् । रानाद्वयको नियोजित तरिकाले हत्या गरिएको भन्दै उनको परिवारले दोषी पत्ता लगाइ कारबाहीको माग गर्दे आएका छन् ।
बुधवार प्रतिनिधि सभामा बोल्दै कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तामाङले रानाद्वयको मृत्युको सत्य तथ्य छानबिन वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेका हुन् ।
यस्तै, सांसद तामाङले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई यसै सत्रको सदनमा यथाशीघ्र प्रस्तुत गर्न माग गरेका छन् ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहित, संसद् सचिवालयमा पेस भइसकेको सो विधेयक विविध कारणले सदनमा प्रस्तुत हुन नसकेको बताइएको छ ।
सांसद तामाङले भने, ‘सम्पूर्ण सुदूरपश्चिमका जनता र सरोकारवालाहरू सबैको भावनालाई विचार गरी सो विधेयकलाई यसै सत्रको सदनमा यथाशीघ्र प्रस्तुत गर्न माग गर्दछु ।’
