

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उपमेयर निलम लेखक जोशीले सुदूरपश्चिमेलिको मौलिक भाषा, कला र संस्कृतिको जर्गेना गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएकी छन् ।
शुक्रवार वडा नम्बर १५ मा आयोजित संस्कृति कला तथा पर्यटन पवद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि उपमेयर जोशीले अहिलेको युवा पुस्ता परम्परागत कला र संस्कृति भुल्दै गएकाले यसको जर्गेना गरिनु अपरिहार्य रहेको बताएकी हुन् ।
भीमदत्त नगरपालिकाको आयोजना र कैलपाल विकास तथा संरक्षण समाज नेपाल महेन्द्रनगरको समन्वयमा दुई दिने संस्कृति कला तथा पर्यटन पवद्र्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरिएको छ ।
कार्यक्रममा सहभागी कैलपाल विकास समाजका महिलाहरूले सगुन (फाग) गाएर कार्यक्रमको उद्घाटन गरिन् । सम्भव तह ः यसरी फाग गाएर पहिलो पटक कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले कार्यक्रमको उद्दघाटन गरिएको भन्दै उपमेयर जोशीले प्रशंसा व्यक्त गरिन् ।

पछिल्लो समय युवापुस्ता बाह्य देखासिकीमा रमाएकाले यसको अन्त्य गरिनुपर्ने उपमेयर जोशीले बताइन् । ‘रीतिरिवाजलाई अगाडी बढाउनुपर्दछ, उपमेयर जोशीले भनिन्, जतिठुलो पदमा भएपनि हामीले आफ्नो संस्कार भुल्न हुँदैन ।’
परम्परागत संस्कृतिको जर्गेना नगरिएमा समाज र गाउँ धरातलमा जाने तर्फ उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । समृद्ध समाज बनाउन संस्कार, धर्म रीतिरिवाज अगाडी बढाउनुपर्नेमा उपमेयर जोशीले जोड दिइन् ।
कार्यक्रममा कैलपाल विकास तथा संरक्षण समाज महेन्द्रनगरका अध्यक्ष हरि दत्त भट्टले परम्परागत लोक संस्कृति लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।
आफ्नो कला संस्कृतिलाई बिर्सन नहुने बताउँँदै उनले सबै मिलेर संस्कृतिको जर्गेना गर्नुपर्ने बताए । कार्यक्रममा कैलपाल समाजका महेन्द्र बहादुर चन्दले संस्कृति र वर्तमान विज्ञानलाई मिलाएर लैजान सके सुन्दर समाजको निर्माण हुने बताए ।
अहिलेका युवाहरू आफ्नो मुख्य कला संस्कृति भुलेर सतही संसारमा रमेकाले उनीहरूमा मुख्य जराको ज्ञान हुनु जरुरी रहेको उनले बताए ।
कार्यक्रममा सहभागीहरूले मादल, हार्मोनियम बजाएर परम्परागत लोक संस्कृति झल्कने गरी फाग, दोहरी गाएको कार्यक्रम सञ्चालक भीमदत्त नगरपालिकाका विपद सम्पर्क व्यक्ती मनोज प्रसाद भट्टले जानकारी दिए ।
