

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले विपद् जन्य घटनाबाट जोगिन कार्य योजना अद्यावधिक गर्ने भएको छ । मंगलबार सो पालिकाले आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्नका लागी विपद् सँग सम्बन्धित विभिन्न पाँच सङ्घ संस्थाहरू सँग छलफल गरेको हो ।

गृह मन्त्रालयले भीमदत्त नगरपालिकाका वडा नम्बर ११, १२ र १३ लाई विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । आगामी दिनमा विपद् जन्य घटनाबाट जोगिन पालिकाले पूर्व तयारी थालिएको जनाएको छ ।
विपद् जन्य घटनाबाट जोगिन भीमदत्त नगरपालिकाको विपद पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ लाई अद्यावधिक गरिने उपमेयर निलम लेखक जोशीले बताइन् । विपद् न्यूनीकरणमा एकद्धार प्रणाली बाट अगाडी बढ्न उपमेयर जोशीले सबै सङ्घसंस्थाहरू सँग आग्रह गरिन् ।
नगरपालिकाका विपद् सम्पर्क व्यक्ती मनोज भट्टले नगरपालिकामा विपदका क्षेत्रमा खटिने नगर प्रहरी, सङ्घसंस्था, एम्बुलेन्स, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका विपद् सँग सरोकार राख्ने निकायको अद्यावधिक गरिने बताए ।
