

हरिशचन्द्र बाग
महेन्द्रनगर । बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि कृषिमा आधारित उद्योग, विपद् जोखिम न्यूनीकरण, नागरिक सुरक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार आयोजित १५औँ नगरसभामा नगर प्रमुख पोतीलाल चौधरीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रमले पुराना लोकप्रिय योजनालाई निरन्तरता दिँदै केही नवीन र महत्वाकांक्षी कार्यक्रमसमेत अघि सारेको छ । प्रस्तुत नीति अनुसार स्थानीय उत्पादनको मूल्य श्रृंखला विकास गर्न यस वर्ष पहिलो पटक कृषिमा आधारित उद्योग स्थापनामा विशेष जोड दिइएको छ ।
नीतिअनुसार केराको थामबाट धागो र डोरी उत्पादन गर्ने, उखुबाट गुड भेली बनाउने उद्योग स्थापना गरिने छ । कृषकलाई उन्नत बीउ तथा कृषि औजारमा ५० प्रतिशत अनुदान दिने अघिल्ला वर्षका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि प्रतिनिधि र कर्मचारीको एक दिन बराबरको तलब ‘विपद् कोष’मा जम्मा गर्ने नीति तय गरिएको छ । जोखिममा रहेका ६ वडामा ‘विपद् घर बीमा कार्यक्रम’ सञ्चालन गरिने छ । नगर क्षेत्रभित्र ‘एक घर, एक म्यादी बीमा’ लागू गर्ने योजना सार्वजनिक गरिएको छ । बाढी प्रकोप न्यूनिकरणका लागि दोदा नदी र सुतिया नालामा पूर्वसूचना प्रणाली जडान गरिने उल्लेख छ ।
आगामी वर्षदेखि नगरभित्र ‘नगर प्रहरी’ गठन गरी शान्ति सुरक्षा र आन्तरिक प्रशासन सुदृढ गर्ने तयारी गरिएको छ । सेवा प्रवाह छरितो बनाउन ‘डिजिटल नागरिक बडापत्र’ ल्याइने छ । उत्कृष्ट करदाता र वडा सम्मान कार्यक्रमलाई निरन्तरता दिइने भनिएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत नगरले प्रोत्साहन र सुविधा विस्तार गर्ने योजना अघि सारेको छ । नगरका स्थायी बासिन्दा वा कर्मचारीले विद्यावारिधि (एजम्) गरेमा एकमुष्ट रु. १ लाख अनुदान दिइने छ ।
वडा नं. ७ र ९ मा बर्थिङ सेन्टर सञ्चालन गरिने छ भने शव व्यवस्थापनका लागि ‘घरदेखि घाटसम्म’ सेवा दिने शववाहन सञ्चालनमा ल्याइने छ ।
गर्भवती तथा सुत्केरी महिलालाई दिइँदै आएको पोषण खर्च यस वर्ष पनि निरन्तर रहने छ । पूर्वाधारतर्फ, संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा २५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । बेलौरी–कलुवापुर चार लेन सडक र चक्रपथ निर्माणका लागि संघीय तथा प्रदेश सरकारसँग सहकार्य गर्ने नीति पुनः दोहोरिएको छ ।
समग्रमा कृषि, सुरक्षा, पूर्वाधार, सेवा प्रवाह र सामाजिक विकासलाई जोड दिइएको बेलौरी नगरपालिकाको नीति तथा कार्यक्रमले समृद्ध र आत्मनिर्भर नगर निर्माणको आकांक्षा प्रस्तुत गरेको छ ।
नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयनमा नगर सभा सदस्यहरूले जोड दिनु भएको छ । सोही नगर सभामा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नु भएको छ ।
बजेटमाथि नगर सभाको बन्दसत्रमा छलफल भइरहेको छ । यस विषयमा बजेट सभाबाट पारित भएपछि सार्वजनिक गरिने छ ।
