

रविन्द्रराज ओझा
महेन्द्रनगर । आँखामै राख्छु मेरो देश
मुटुमै राख्छु मेरो देश
परेलीमा सजाउँछु मेरो देश
कञ्चन ब्याङ्केटमा शनिबार विहान देशभक्तिको यो गीतमा विद्यार्थीहरु नाच्न थालेपछि हलमा तालीको गडगडाहट गुञ्जियो । कार्यक्रममा मञ्च आशिन अतिथि सहित सहभागी सबै नृृत्यमा मन्त्रगुग्ध भए ।
लिटिल बुद्ध एकेडेमी (एलबीए) ले शनिबार माध्यमिक शिक्षा परीक्षा(एसईई) उत्तीर्ण विद्यार्थीहरुका लागि गरेको बधाई तथा तथा सम्मान कार्यक्रम औपचारिक उद्घाटन भएपछि गीत सहित नृत्यु प्रस्तुत गरिएको हो ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरी लिटिल बुद्ध एकेडेमीले २०८१ को एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान गरेको छ ।
यो लिटिल बुद्धको १७ औं एसईई ब्याच हो । २०८१ को एसईईमा लिटिल बुद्धका १ सय ६१ विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसमा ४१ विद्यार्थीले ए प्लस ल्याएका छन् ।
एसईईमा लिटिल बुद्धका १ सय ६६ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यो संख्या सुदूरपश्चिममै परीक्षा दिने विद्यार्थी संख्यामध्ये दोस्रो ठूलो हो । कैलालीको धनगढीस्थित ऐश्यवर्य विद्या निकेतनबाट २ सय १४ विद्यार्थी एसईई सहभागी भएका थिए ।
लिटिल बुद्धका प्रिन्सिपल श्याम सिह मौनीले सुदूरपश्चिमै सबैभन्दा बढी विद्यार्थी सहभागी भएर उत्कृष्ठ नतिजा सहित सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको विद्यालय गौरवान्तित भएको बताए ।

‘हाम्रो विद्यालयबाट सुदूरपश्चिमभरि धनगढीको ऐश्यर्वपछि सबैभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएका थिए, त्यसमा हाम्रो लगभग सबै विद्यार्थी उत्कृष्ठ नतिजा ल्याएर उत्तीर्ण भएका छन्, यो विद्यालयका लागि गौरबको विषय हो’ कार्यक्रममा उनले भने,‘यसका लागि म उत्तीर्ण सबै विद्यार्थी सहित शिक्षक, अभिभावक सबैमा बधाई दिन चाहन्छु ।’
लिटिल बुद्धका सम्मित चन्दले सबैभन्दा बढी ३ दशमलव ९६ जीपीए ल्याएका छन् । कार्यक्रममा चन्द सहित उत्तीर्ण विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई सम्मान गरिएको छ ।
एसईई उत्तीर्ण विद्यार्थीहरु आफ्ना अभिभावक सहित कार्यक्रममा सहभागी भए । कार्यक्रममा केक काटेर सेलिब्रेसन गरियो । त्यसपछि एसइई उत्तीर्ण विद्यार्थीलाई टिका र खादा लगाएर सम्मान पत्र प्रदान गरिएको छ । उनीहरुसंगै अभिभावकलाई टिका लगाएर खादा ओढाएर सम्मान गरियो ।
‘छोरासंगै मञ्चमा गएर सम्मान पाउँदा निकै खुसी छु, लिटिल बुद्धका एसइई टपर सम्मितका बुवा पूर्ण बहादुर चन्दले भने ।


भीमदत्त नगरपालिका ७ स्थित ज्ञान वाटिका विद्या आश्रमका शिक्षक चन्दले सम्मान कार्यक्रमले विद्यार्थीलाई हौसला मिल्ने बताए ।
कार्यक्रममा एसइई टपर सम्मितले सबैभन्दा पहिले मञ्चमा सम्मान थापेका हुन् । ‘यो कुर्चीबाट उठेर मञ्चमा पुगेर सम्मान थाप्दासम्म म निकै खुसी भए, मञ्चबाट मैले मेरो सबै साथीहरुलाई हेरे, मन निकै खुसी भयो’ सम्मानपछि उनले भने ।
युकेजीदेखि एलबीएमा पढेका उनले आफूले आश गरे अनुसार नतिजा नआएको बताए । ‘मैले यो भन्दा बढी आउने आश गरेका थिए, ४ जीपिए आउने आश थियो, सामाजिक एक मात्रै आयो, अरु सबैमा त ए प्लस नै छ’ उनले भने,‘तै पनि खुसी छु ।’
लिटिल बुद्धमै विज्ञान विषय पढ्ने र त्यसपछि चिकित्सा वा मेडिकल क्षेत्रतिर जाने उनले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका कर्मचारी रामकृष्ण चौधरीले पनि छोरी स्मृति चौधरीसित सम्मान पाएपछि खुसी व्यक्त गरे । ‘छोरीसंगै सम्मान पाउँदा खुसी लागेको छ, सबै बेला यस्तो मौका पाइदैन’ उनले भने ।
स्मृतिले नर्सरीदेखि एलबीएमा पढेकी हुन् । छोरीले विज्ञान विषय लिएर पढ्ने चौधरीले बताए ।
कार्यक्रममा विद्यालयका कक्षा १२ का छात्रा कमला भट्ट, अन्जु पनेरु, शिक्षक उमेश प्रसाद चटौत सहितले मन्तव्य राखे । शिक्षक चटौतले एसईई उत्तीर्ण विद्यार्थीले उत्कृष्ठ नतिजाझै भविष्यमा उत्कृष्ठ हुने आशा व्यक्त गरे ।
उनले एलबीले कञ्चनपुरमा उत्कृष्ठ नतिजा ल्याएको उल्लेख गर्दै अझै कम भएको जस्तो लागेको बताए । ‘कञ्चनपुरमै यो नतिजा एकदमै उत्कृष्ठ छ, जति भए पनि कम जस्तो नै लाग्छ’ उनले भने,‘यसका लागि म सबै शिक्षक, कर्मचारी र मिहिनेती विद्यार्थीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

कार्यक्रमका प्रमुख अतिथि समन्वय समिति प्रमुख बोहराले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई जीवनका हरेक परिस्थिति र जिम्मेवारीसित सामना गर्न सक्ने क्षमता बनाउन सुझाव दिए ।
कार्यक्रमका विशिष्ठ अतिथि भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख हरिदत्त जोशीले एसर्ईई उत्तीर्ण विद्यार्थीलाई विश्वले चिन्न सक्ने मान्छे बन्नु सुझाव दिए ।
उनले लिटिल बुद्ध भविष्यमा देशकै एक नम्बर शैक्षिक संस्था बन्ने दिशामा पुगेको बताए । ‘अहिले देशभर विद्यालयको वर्गीकरण क वर्गको कुनै छैन, यस पटक नै भई सक्थ्यो, तर त्यहाँ केही मापदण्ड छन्, विद्यालयमा स्विमिङ्ग पुलको कुरा छ, अब आजको कार्यक्रममा स्विमिङ्ग पुल सहित संरचना बनाउने कुरा आई सक्यो, अब यसलाई एक नम्बरको शैक्षिक संस्था बन्न कसैले रोक्न सक्दैन’ उनले भने ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल मौनीले विद्यालयको भावी योजना प्रस्तुत गर्दैै ६ महिनाभित्र विद्यालयलाई देशभरिबाट हेर्न आउने गरी संरचना थप्न लागिएको बताए ।

मौनीका अनुसार विद्यालयमा ५ करोड लगानीमा स्विमिङ्ग पुल सहित थप संरचना निर्माण हुन लागेका छन् । हालसम्म विद्यालयमा १५ करोड लगानी खर्च भएको छ । त्यसमा थप ५ करोड खर्च गर्न लागिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र सिह खत्रीको अध्यक्षतामा गरिएको कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतिक प्रस्तुति देखाए । कार्यक्रम समापन अघि सुदूरपश्चिमको प्रसिद्ध हुड्केली नृृत्य प्रस्तुत गरिएको छ ।
विद्यालयका शिक्षक घनश्याम भट्टले कार्यक्रम सञ्चालन गरे ।
