
छाउपढी विरुद्ध एक्सनमा उत्रिए सिडिओ, गोठ भत्काउने अभियान चलाउन सबै स्थान्नीय तहलाई पत्राचार

महेन्द्रनगर । सर्पले टोकेर छाउपढी गोठमा महिलाको मृत्यु भएपछि कञ्चनपुर प्रशासनले छाउपढी गोठ भत्काउने अभियान सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।
कृष्णपुर नगरपालिका १ निगालीका २८ वर्षीया कमला आउजी दमाईको छाउपढी गोठमा सर्प दंशबाट मृत्यु भएको हो ।
दमाईको मृत्युपछि कञ्चनपुर प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले छाउपढी विरुद्ध विशेष अभियान सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गरेका छन् ।
प्रशासनले कञ्चनपुर जिल्लाभर छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
परम्परागत रूपमा जरा गाडेर बसेको छाउपडी कुप्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन गर्न सबै स्थानीय तहलाई पत्र मार्फत आग्रह गरिएको छ ।
कञ्चनपुरको सबैभन्दा पुरानो भीमदत्त नगरपालिका सहित दोधारा चाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका र बेलडाँडी र लालझाडी गाउँपालिकालाई अनुरोध गरिएको छ ।

“कमला दमाईको ज्यान गएको पृष्ठभूमिमा अब चुप लागेर बस्न सकिँदैन,“ प्रमुख जिल्ला अधिकारी ढकालले हस्ताक्षरित पत्रका भनिएको छ, ‘यो कुप्रथाको अन्त्य गर्न स्थानीय तहबाट आवश्यक निर्णय गराई छाउगोठ भत्काउने अभियान तत्काल सञ्चालन गर्न जरुरी देखिएको छ ।“
जिल्ला समन्वय समितिको कार्यालय कञ्चनपुरलाई पत्रको बोधार्थ गरिएको छ । कृष्णपुर नगरपालिकाले भने आइतबार नै १५ दिनभित्र छाउगोठ भत्काउन सूचना जारी गरेको थियो ।
कृष्णपुरमा १५ वर्ष अघि छाउपढी गोठ भत्काउने अभियान सुरु गरिएको थियो । एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाको अगुवामा अभियान सञ्चालन गरिएको थियो ।
अध्यक्ष बुढा स्वास्थ्य उपचारका लागि केही महिनादेखि काठमाडौंमा छन् । उनले छाउगोठमा सर्पले टोकेर ज्यान गएको खबर सुनेपछि आफू निःशब्द भएको बताइन् ।
‘मैले १५ वर्ष अघि नै यस विरुद्ध अभियान सञ्चालन गरेकी थिए, अझै पनि यस्तो भयो, म निःशब्द छु,’ उनले भनिन् ।
उनले स्थानीय सरकार, स्थानीय प्रशासन, राजनीतिक दल, सामाजिक संघ संस्था सबै एकजुट भएर छाउपढी विरुद्ध लाग्नु पर्ने बताइन् ।

