
कञ्चनपुर प्रहरीलाई लालझाडी राना मृत्यु प्रकरणमा सफलता, बेलडाँडीका हरि किसनको घट्नामा अझै अनुसन्धान जारी


–रविन्द्रराज ओझा
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का साँसद तारालामा तामाङ्ग बैशाख २४ गते प्रतिनिधि सभाको शुन्य समयमा बेलडाँडीका हरिकिसन राना र लालझाडीका रामरेसर रानाको मृत्यु प्रकरणको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने माग गरेका थिए ।
बेलौरी नगरपालिका–१०, शिवनगरस्थित निर्मल शारदा आर्यघाट नजिकै पूर्ण रूपमा जलेर बैशाख ९ गते मृत भेटिएका बेलडाँडीका ५० वर्षीय रानाको मृत्यु प्रकरणमा अझै प्रहरी अनुसन्धान जारी छ ।
लालझाडी गाउँपालिका ४ सिलकट्टी जाई शिविरका ३५ वर्षीय रामरेसर रानाको मृत्यु प्रकरणमा तीन जना कारागार पुगेका छन् । उनीहरुमध्ये एक जना पुर्पक्ष र अन्य दुई जना धरौटी बुझाउन नसकेर कारागार चलान गरिएका छन् ।
प्रहरीले बेलौरी नगरपालिका ४ का पुना राना, लाझाडी गाउँपालिका ४ की माया चौधरी र मानमति चौधरीलाई पक्राउ गरी अनुसन्धान ग¥यो ।
प्रहरी अनुसन्धानका आधारमा जिल्ला अदालतमा मुद्दा दायर भएपछि बेलौरीका राना पुर्पक्षका लागि कारागार चलान गरिएका छन् । अदालतलाई धरौटी बुझाउन नसकेपछि दुई जना पनि कारागार चलान गरिएका हु्न् । अदालतले उनीहरुसित जनही एक÷एक लाख धरौटी माग गरेको थियो ।

भारतबाट घर फर्किएका राना घर नजिक मृत अवस्थामा भेटिएका थिए । प्रहरीले रानाको मृत्युमा अपराध संकेत भेटेपछि त्यसका आधारमा अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अपराध संकेत (क्लु) सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्रीले रानाको मृत्यु घट्नामा क्लु भेटिएपछि अनुसन्धान गरी मुद्दा अदालती प्रक्रियामा गएको बताए ।
मृतक राना १५ दिन अघि भारतबाट घर फर्र्किएका थिए । ‘केही क्लु पाएपछि अनुुसन्धान जारी राख्यौ, तीनसम्म अनुसन्धान गरियो, त्यसपछि तीन जना पक्राउ गरी अनुसन्धान पूरा गरी मुद्दा दर्ता भयो’ उनले भने ।
प्रहरीका अनुसार मृतक राना हत्या अभियुक्त ती दुई महिलाको घरमा राति आएका थिए । उनी त्यहीं राति विहान घर नजिक मृत भेटिएका थिए ।
बेलडाँडीका हर किसन रानाको मृत्यु प्रकरणको अनुसन्धान अन्तिम अवस्थामा पुगेको प्रहरी उपरीक्षक खत्रीले बताए ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी ) र इलाका प्रहरी कार्यालय बेलडाँडीले अनुसन्धान गरि रहेको छ ।
प्रहरी उपरीक्षक खत्रीले राना मृत्यु प्रकरणको धेरै कोणबाट अनुसन्धान भइ रहेको जानकारी दिए ।
‘यो घट्नाको धेरै कोणबाट अनुसन्धान भई रहेको छ, अन्तिम अवस्थामा छौं’ सोमबार प्रहरी कार्यालय गत आर्थिक वर्षको वार्षिक प्रगति सार्वजनिक कार्यक्रममा प्रहरी उपरीक्षक खत्रीले भने ।
प्रहरीले विधि विज्ञान प्रयोगशालाबाट राना मृत्युको जाँचका रिपोर्ट अझै नआएको जानकारी दिएको छ । राना मृत्यु प्रकरणमा हालसम्म ७ जनालाई सोधपुध गरिएको प्रहरीले जानकारी दिएको छ । ‘यस बाहेक मोबाइल बाहेक अन्य समान पनि जाँच गर्ने कार्य भई रहेको छ’ प्रहरी उपरीक्षक खत्रीले भने ।
सांसद तामाङले रानाद्वयको मृत्युको सत्य तथ्य छानबिन वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेका थिए । ।
