

महेन्द्रनगर । सशस्त्र प्रहरीको शुक्लाफाँटा नगरपालिकास्थित वन समितिस्थित सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरी गणले १२ करोड रुपैँया मूल्य बराबरको अवैध समान बरामद गरेको छ ।
शैलेश्वरी गणको २२ औं स्थापना दिवसमा सशस्त्र प्रहरीको सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी प्रदिप पालले सीमावर्ती क्षेत्रमा हुने राजस्व चोरी, तस्करी तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण सशस्त्र प्रहरी सक्रिय रहेको उल्लेख गर्दै तस्करीको समान बरामद गरिएको बताएका हुन् ।

‘राज्यले दिएको जिम्मेवारी अनुरूप सीमा सुरक्षा, राजस्व चोरी छली नियन्त्रण र नागरिकको सुरक्षाका लागि सशस्त्र प्रहरी निरन्तर खटिएको छ,” डिआईजी पालले भने, “शैलेश्वरी गणले मात्रै १२ करोड मूल्य बराबरका तस्करीका सामग्री नियन्त्रण गरेको छ, यो आफैँमा उदाहरणीय उपलब्धि हो ।”

उनले सीमा क्षेत्रमा सुरक्षासँगै विपद् व्यवस्थापन तथा स्थानीय समुदायसँग सहकार्यमा सामाजिक उत्तरदायित्व वहन गर्न समेत सशस्त्र प्रहरी तत्पर रहेको उल्लेख गरे ।
शैलेश्वर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र भट्टले सशस्त्र प्रहरी सीमा सुरक्षामा प्रतिबद्ध भएर खटिएको बताए ।
कार्यक्रममा आन्तरिक विद्यातर्फ उत्कृष्ट खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । यसैगरी उत्कृष्ट सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरीलाई सम्मान गरिएको छ ।
सुदूरपश्चिमको लोक सस्कृति झल्किने विभिन्न साँस्कृतिक झाँकी कार्यक्रममा प्रस्तुत गरिए ।

