

महेन्द्रनगर । नेपाली सेनाले स्थानीयलाई घरमै सुरक्षित बस्न आग्रह गरेको छ । कञ्चनपुर दक्षिणी क्षेत्रमा अवाञ्छित गतिविधि हुन सक्ने भन्दै सेनाले सर्वसाधारण सबैलाई घरमा बस्न आग्रह गरेको छ ।

सेनाले अत्यावश्यक कारणबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै आफ्नो सुरक्षाका लागि घरमै सुरक्षित साथ बस्न अनुरोध गरेको छ । साथै, अपरिचित व्यक्तिहरूलाई घर वा समुदायमा प्रवेश नदिन सर्वसाधारणलाई सचेत गराइएको छ ।

शान्ति सुरक्षा मजबुत बनाउन नेपाली सेनाको कमाण्डमा विभिन्न सुरक्षाकर्मीहरू ठाउँठाउँमा परिचालन गरिएको छ । आवश्यकता र परिस्थिति अनुसार कफ्र्यु वा निषेधाज्ञा जारी समेत भइरहेको सूचित गरिएको छ ।
नेपाली सेनाले नागरिकलाई संयमित रहन, अनावश्यक हल्ला नफैलाउन, कानुन विपरीतका गतिविधि नगर्न तथा सुरक्षाकर्मीहरूको निर्देशनलाई पालना गर्न विशेष आग्रह गरेको छ ।
