

महेन्द्रनगर । भारतले सीमा नाकाबाट नेपालीलाई भारत प्रवेश रोक लगाएको छ । भारत जान लागेका नेपालीलाई एसएसबीले फिर्ता गरि रहेको छ ।
भारतबाट नेपाल भने आउन दिइएको छ । जेएन जी आन्दोलनपछि बुधबार विहानदेखि भारतीय सीमा क्षेत्रमा प्रवेश रोक लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले सीमा क्षेत्रबाट नेपालीलाई भारत प्रवेश रोकिएको र भारतबाट मात्रै आउन दिइएको जानकारी दिए । भारतीय सीमा सुरक्षा बल एसएसबीले सीमा क्षेत्रमा सुरक्षा जाँचमा समेत कडाई गरेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालबाट नेपाली नागरिक भारत प्रवेश गर्न दिएको छैन, तर आधारकार्ड भएका भारतीयलाई भने प्रवेश गर्न दिएको छ ।
बिहानैदेखि गड्डाचौकी, टनकपुर, दोधाराचाँदनी, बेलडाँडी, बेलौरी र पुनर्वास नगरका विभिन्न खुला नाकाहरूबाट नेपाली तथा भारतीयहरूलाई भारत प्रवेशमा रोक लगाएको छ । तर, भारतबाट नेपाल आउन भने दिइएको छ ।
भारतबाट स्वदेश फिर्ता भएका बैतडीका जनक लुहारले सीमावर्ती बनबासा नाकाबाट नेपाल आउन दिएको, तर भारत जान नदिएको बताए । जेन–जी आन्दोलनका क्रममा मंगलबार कञ्चनपुर, कैलालीसहितका विभिन्न जिल्लाका कारागारमा रहेका कैदीबन्दी भागेपछि भारत प्रवेशमा रोक लगाएको जनाइएको छ ।
भारतबाट फर्किएका नेपाली मजदुर यातायात सेवा सञ्चालन नभएपछि महेन्द्रनगर बसपार्कसहितका सडकमै अलपत्र गरेका छन् ।

