

महेन्द्रनगर । एमाले नेता कार्यकर्ताले जेन जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त पार्टी कार्यालयमा सरसरफाई सुरु गरेका छन् ।
भदौ २४ गते आन्दोलनका क्रममा एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । तोडफोड र आगजनीबाट दुई तले पार्टी कार्यालयमा व्यापक क्षति भएको छ ।

एमाले कञ्चनपुरका जिल्ला कमिटी सदस्य कमल रोकायाले आन्दोलनबाट क्षतिग्रस्त पार्टी कार्यालयमा सरसफाई र मर्मत थालिएको जानकारी दिए । ‘हामीले आजबाट हाम्रो पार्टी कार्यालय सरसफाई तथा मर्मत कार्य सुरुवात गरेका छौ’ नेता रोकायाले भने ।

एमालेको जिल्ला कमिटी सहित भीमदत्त नगर कमिटी र विभिन्न जन संगठनका नेता कार्यकर्ता पार्टी कार्यालय सरसफाईमा लागेका छन् ।
भीमदत्त नगरपालिका ४ स्थित एमाले पार्टी कार्यालयमा आन्दोलनकारीले पटक पटक आगजनी र तोडफोड गरेका थिए ।

आन्दोलनकारीले पार्टी कार्यालयभित्रका दराज, टेबुल, कुर्सी, कागजात लगायतका समानमा आगजानी गरेका थिए । आन्दोलनकारीले एमाले पार्टी कार्यालय बाहेक नेताहरुको व्यक्तिगत घरहरुमा पनि आगजनी र तोडफोड गरेका छन् ।

एमाले कञ्चनपुर इन्चार्ज निरुदेबी पाल, एमाले पोलिटब्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल र एमाले कञ्चनपुरका पूर्व अध्यक्ष एबम् भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टको घरमा आगजनी र तोडफोड गरिएको छ ।
एमाले कञ्चनपुर इन्चार्ज पालको भीनपा १७ बाँसखेडा र भीनपा ४ महेन्द्रनगर बजार मेनरोडस्थित घरमा आगजनी र तोडफोड गरिएको छ । आगनजनी र तोडफोडबाट एमाले नेताहरुको घरमा ठूलो मात्रा क्षति भएको छ ।

एमाले पार्टी कार्यालयमा सरसफाई तथा मर्मतपछि जिल्ला कमिटी सदस्य रोकायाले सामाजिक सञ्जाल फेसबुकबाट पार्टी कार्यालय लगायत व्यक्तिगत निवासमा आगजानी, तोडफोड र लुटपाटमा संलग्नलाई समयको प्रतिक्षा गर्न चेतावनी दिएका छन् ।
‘नेकपा (एमाले) को पार्टी कार्यालय लगायत ब्यक्तिगत निवासमा आगजनी÷लुटपाट मात्र गरेका होइनौ, तिमीहरुले आफ्नो पार्टी कार्यालय÷घर जलाउन निमन्त्रणा दिएका हौ त्यो समय को प्रतीक्षा गर समय एक दिन अवश्य आउँछ’ रोकायाले भनेका छन् ।


