
बैतडीको देहीमाडौंस्थित निङ्गलाशैनी जात्रामा पहिलो दिनै उर्लियो दर्शनार्थीको भीड
जात्रा शान्तिपूर्ण बनाउन दुई दिन मदिरा बेचबिखन बन्द, सोमबार साँझ मन्दिरमा बाँधिए अढाई सय बढी राँगा


महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौस्थित निङ्गलाशैनी भगवती मन्दिरमा सुरु जात्रालाई मध्यनजर गरी मदिरा बेचबिखन बन्द गरिएको छ । दुई दिनसम्म चल्ने जात्रालाई शान्तिपूर्ण बनाउन सोमबार र मंगलबार दुई दिन मदिरा बेचबिखन बन्द गरिएको छ ।
दशथर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सूर्य बोहराले जात्रालाई शान्तिपूर्ण, मर्यापदत र व्यवस्थित बनाउन मदिरा कारोबार बन्द गरिएको जानकारी दिए । ‘मेला अशान्ति हुन सक्छ भनेर व्यवसायीसित आग्रह गरी मदिरा बेचबखिन बन्द गरिएको छ’ वडा अध्यक्ष बोहराले भने ।

जात्रामा यस वर्ष पहिलो दिन नै दर्शनार्थीको भीडभाड देखिएको अध्यक्ष बोहराले बताए । विगत वर्षमा दोस्रो दिन अर्थात अष्ठमीका दिन दर्शठूलो भीड हुने गरेको थियो । पहिलो दिनलाई नानी र दोस्रो दिन ठूली जाँत भन्ने गरिन्छ ।
नानी जाँतका दिन मन्दिरमा निङ्गलाशैनी भगवति मातालाई बलि दिन राँगा बाँध्ने गरिन्छ । वडा अध्यक्ष बोहराका सोमबार साँझसम्म अढाई सय बढी राँथा मन्दिरमा बाँधिएका छन् । भोलि काट्न अघिसम्म यो संख्या बढ्ने र यस वर्ष धेरै राँगाको बलि हुने बोहराले बताए ।
‘यस वर्ष आज नानी जाँतका दिन नै मेलामा ठूलो भीडभाड छ, अरु वर्ष यतिका मान्छे राँगा काँट्ने दिन मात्रै हुन्थे’ उनले भने,‘भोलिसम्म त निकै ठूलो भीड हुने देखिन्छ ।’
वडा कार्यालय, निङ्गलाशैनी भगवती धार्मिक सेवा समिति, सुरक्षा निकाय मेला सुरक्षाका लागि लागेका छन् । जात्रामा बालबालिकादेखि वृद्धवृद्धासम्म सबै सहभागी हुने गर्छन् । जात्रामा महिला र पुरुषले देउडा खेल्ने गर्छन् । देहीमाडौं बजारको खेल मैदानमा रातभरि देउडा खेल्ने गरिन्छ ।
मेलामा तराई, काठमाडांै सहित स्वदेश र विदेशमा फर्केर मान्छेहरु मेला भर्न पुगेका छन् । भारतका विभिन्न सहरबाट व्यवसायीहरु यस वर्ष पनि व्यापार गर्न आएका छन् । भारतीय मिठाई कारोबारका लागि मेलामा आउने गरेका छन् ।
वडा अध्यक्ष बोहराले भारतबाट आएका सहित मेलामा अस्थायी कारोबारका लागि आएका सबैको व्यवस्थापन गरिएको बताए ।
मन्दिरमा सप्तमीका दिन रांगा बाँध्ने र अष्टमीका दिन बलि दिने चलन परापूर्वकालदेखि चल्दै आएको समितिका अध्यक्ष मान बहादुर बोहराले बताए । मन्दिरमा हरेक बर्षको आश्विन शुक्ल अष्टमी र चैत्राष्टमीमा बलि सहित पूजाआजा हुने गरेको छ । निङ्गलाशैनी माता दर्शनका लागि यस वर्ष पनि टाढा टाढाबाट दर्शनार्थी आएका छन् ।
निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास गरिन्छ ।
चैत्राष्टमीको अवसरमा बैतडीका अन्य शक्ति पीठहरुमा पनि बलि सहित पूजाआजा हुने गरेको छ । त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली भगवती मन्दिर, डिलाशैनी भगवती मन्दिर लगायतका शक्तिपीठहरुमा बलि सहित पूजाआजा हुने गरेको स्थानीयहरुले बताएका छन् ।
