

महेन्द्रनगर । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा नेकपा एमालेको ११औँ महाधिवेशन सुरु भएको छ । महाधिवेशनस्थलमा विभिन्न जिल्लाबाट नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।

महाधिवेशनका लागि विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचना निर्माण गरिएको छ। मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन, बसाइँ व्यवस्था मिलाइएको छ ।
शनिबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीले मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई रिमोटद्वारा बालेर उद्घाटन गरेका छन् । ११ झण्डा राखिएकामा १० वटा झण्डा सुरुमै फहराइएको थियो भने एउटा झण्डा पनि रिमोटबाटै फहराइएको थियो ।
उद्घाटन समारोहमा अन्य दलका नेताहरू पनि सहभागी छन्। कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेकपाबाट देव गुरुङलगायतका नेताहरू पनि शुभकामना दिन एमालेको उद्घाटन समारोहमा पुगेका हुन् ।
