
कञ्चनपुर उद्योग बाणिज्य संघमा कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध
कोषाध्यक्ष र सदस्यमा १७ को उम्मेदवारी, संस्थागत सदस्यमा थापा पनि निर्विरोध

महेन्द्रनगर । कञ्चनपुर उद्योग बाणिज्य संघको १८ औं कार्यकारिणी समिति निर्वाचनमा अध्यक्ष सहित पाँच पदाधिकारी र एक सदस्य निर्विरोध भएका छन् ।
शनिबार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिव र सचिवमा एकल उम्मेदवारी परेपछि उनीहरु निर्विरोध भएका हुन् ।

निर्वाचन समितिका सदस्य अधिवक्ता एकराज भट्टले ती पदमा एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको जानकारी दिए ।
संघको अध्यक्षमा दिनेश मल्ल, वरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकाश साउँद, उद्योग उपाध्यक्ष तेज बहादुर चन्द, बाणिज्य उपाध्यक्ष गणेश चटौत, महासचिव राहलु भट्ट र सचिवमा एनपी जोशीको एकल उम्मेदवारी परेको हो ।
एकल उम्मेदवारी परेपछि उनीहरु सबै निर्विरोध भएका छन् । निर्वाचन समितिले निर्विरोध भएको आधिकारिक घोषणा गरेको छैन ।
संघको १७ र्औ निर्वाचनमा अध्यक्ष, बाणिज्य उपाध्यक्ष र महासचिवमा निर्वाचन भएका थियो । अन्य पदाधिकारी र सदस्य सबै निर्विरोध भएका थिए ।
यस पटक कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्विरोध भएका छन् । संघको नयाँ समिति सर्वसम्मत बनाउन केही दिनदेखि छलफल थालिएको थियो ।

ती छलफलपछि संघका पदाधिकारी निर्विरोध भएका छन् । संघका पदाधिकारीले कोषाध्यक्ष र सदस्यहरु पनि निर्विरोध हुने बताए ।
‘आज जति पदमा निर्विरोध भए,यो सकारात्मक नै हो, उम्मेदवारी फिर्ता समयसम्म सबै निर्विरोध बनाउने गरी अघि बढेका र्छौं’ती पदाधिकारीले भने ।
संघको निर्विरोध नेतृत्व गर्ने मौका पाउन लागेका मल्ल संघका वर्तमान वरिष्ठ उपाध्यक्ष हुन् । संघका पूर्व महासचिव साउँद वरिष्ठ उपाध्यक्ष निर्विरोध भएका छन् ।
संघको कार्य समिति सदस्य चन्द उद्योग उपाध्यक्ष भएका छन् । पूर्व सचिव गणेश चटौत बाणिज्य उपाध्यक्ष र संघका सचिव राहुल भट्ट महासचिवमा उक्लिएका हुन् ।
संघका सदस्य एनपी जोशी सचिवमा आउन लागेका छन् । उनी संघको कार्य समिति सदस्य हुन् ।
संघको कोषाध्यक्ष एक जनाका लागि ३ र ७ सदस्यका लागि १४ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । संस्थागत सदस्यमा नेपाल वन पैदावार काष्ठ व्यवसायी संघका अध्यक्ष गजेन्द्र बिक्रम थापा निर्विरोध भएका छन् । संघमा काष्ठ व्यवसायी संघ सहित संस्थागत सदस्य ६ छन् ।
कोषाध्यक्षमा प्रदिप पाल, सिद्धराज भट्ट र मिनराज भट्टले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षका उम्मेदवार पालले चुनाव प्रक्रियाबाट कोषाध्यक्ष निर्वाचित हुने बताए ।
७ सदस्यका लागि लोकराज भट्ट, गोबिन्द भट्ट, पारस जोशी, निरज गुप्ता, पुरन पाण्डेय, देबदत्त जोशी, भोजराज अवस्थी, गंगा सिह धामी, कृष्ण राना, सरिता भण्डारी, हेमराज भट्ट, पार्वती कुमारी विष्ट, सञ्जय कुमार भट्ट र जगदीश कुमार भट्ट उम्मेदवार भएका छन् ।
निर्वाचन समितिका सदस्य भट्टले सोमबारसम्म उम्मेदवारी फिर्ता समय भएको जानकारी दिए । फिर्ता समय सकिएपछि उम्मेदवारको अन्तिम उम्मेदवारी प्रकाशन हुने जानकारी उनले दिए ।
