

महेन्द्रनगर । कञ्चनपुर २ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिशका लागि तीन जना निर्वाचित भएका छन् । एमाले निर्वाचन क्षेत्र नं. २ समन्वय कमिटीले शनिबार राखेको छलफलमा आकाँक्षीहरुबीच सहमति हुन नसकेपछि आइतबार निर्वाचन गरिएको हो ।
प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि पूर्व साँसद नर बहादुर धामी, बेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक कुमार चन्द, राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष बचन बहादुर सिह, एमाले कञ्चनपुर अध्यक्ष लक्ष्मी बुढा र पार्वती जोशी चुनाव लडेका हुन् ।

उनीहरुमध्ये अशोक चन्द, नर बहादुर धामी र पार्वती जोशी उम्मेदवार सिफारिशका लागि निर्वाचित भएका छन् । चन्द र धामी पुरुष खुला तथा पार्वती जोशी महिलाबाट निर्वाचित भएकी छन् ।
चुनावमा निवर्तमान मेयर चन्दले सबैभन्दा बढी मत ल्याएका छन् । उनले खसेको मतको ६९ मत पाएका छन् । पूर्व सासँद धामीले निर्वाचनमा ५७ मत पाएका छन् । सिह ५० मत पाएर प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिश हुन रोकिएका छन् ।
प्रतिनिध सभा सदस्य उम्मेदवारका लागि निर्वाचित चन्द एमाले कञ्चनपुरका उप सचिव हुन् ।
२०७९ को निर्वाचनमा बेदकोट नगरपालिकाका मेयर निर्वाचित भएका उनले एमालेको ११ औं महाधिवेशनमा नेतृत्व हस्तान्तरणको मुद्दा उठाएका थिए ।

शालिक र हक्की स्वभावका चन्द एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीका संयोजक पनि हुन् ।
एमाले आठांैं महाधिवेशनबाट जिल्ला पदाधिकारी हुन खोजेका उनी नवौमा आएर उप सचिव भएका हुन् । नवौ जिल्ला अधिवेशनमा उनी अध्यक्षका दाबेदार थिए ।
सर्वसम्मति सहमति बनाउने भएपछि अध्यक्षको दाबेदारी छाडेर उनी उप सचिव भएका थिए ।
एमाले ११ औैं महाधिवेशनमा उनी प्रतिनिधि नभएर बाहिर बसेका थिए । क्षेत्र नं. २ मा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनौट गरिएको थियो ।
एमाले जिल्ला अध्यक्ष बुढा ४१ मत ल्याएर प्रतिनिधि सभा सदस्यका लागि सिफारिशबाट रोकिएकी छन् । उनी भन्दा तीन मत बढी ल्याएर पार्वती जोशी सिपारिशका लागि निर्वाचित भएकी हुन् । उनले ४४ मत ल्याएकी छन् ।
जोशी एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य हुन् । २०७९ को निर्वाचनमा बेदकोट नगरपालिकाको उप निर्वाचनमा पराजित गरी यस अघि ११ आंै महाधिवेशनमा प्रतिनिधि थिइन् ।
प्रतिनिधि सभा सदस्य सिफारिशका लागि निर्वाचित सबै बेदकोट नगरपालिकाका हुन् । कञ्चनपुर २ मा बेदकोट नगरपालिका, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका पर्छ ।
निर्वाचन क्षेत्र नं. २ भित्रका एमाले जिल्ला कमिटीका सदस्य, पालिका कमिटीका पदाधिकारी, वडा कमिटी अध्यक्ष लगायतमा निर्वाचनम मतदाता थिए ।

