

महेन्द्रनगर । भीमदत्त नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा मार्शल आर्टसको उसु खेलका पदक गणना नभएपछि बैजनाथ माध्यमिक विद्यालय राष्ट्रिय खेलकूद परिषद् गएको छ ।
कबर्डमा गरिएको प्रतियोगिता बैजनाथले ९ स्वर्ण जितेको छ । ती स्वर्ण पदक तालिकामा गणना नहुने निर्णय भएपछि विद्यालयले प्रतियोगितामा पदकका लागि चाहिने प्रतिस्पर्धी खेलाडीको संख्या जानकारीका लागि पत्राचार गरेको हो ।

विद्यालयमा आइतबार विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ(पीटिए), खेल संयोजक र शिक्षक अभिभावक सहितको छलफलपछि राखेपमा पत्राचार गरिएको छ ।
बैजनाथले राखेपलाई पठाएको पत्रमा खेलमा प्रतिस्पर्धा गराएर पदक गणना नगरी अन्याय गरिएको र जिल्लाका अन्य पालिकाका पदक गणना गरिएको जानकारी समेत पत्र सहित पठाएको छ ।
विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष नवराज भट्टले खेलाडीलाई प्रतिस्पर्धामा सहभागी गराएर पदक गणना नगर्ने निर्णय मनोमानीको पाराकाष्ठा भएको बताए ।

बिहीबार साँझ उसुका खेल सकिएपछि प्रतियोगिताको सचिवालयले सामाजिक सञ्जाल फेसबुकबाट उसुका पदक गणना नहुने निर्णय सार्वजनिक गरेको थियो । सचिवालयले पदक तालिकामा समावेश नगरी फेसबुकबाट सार्वजनिक गरेको थियो ।

विद्यालयले बिहीबारदेखि शनिबारसम्म पदक गणनाका लागि दबाब दिएको थियो । शनिबार विद्यार्थीले सचिवालयका तालाबन्दी गर्न खोजेका थिए । ठूलो संख्यामा प्रहरी परिचालन गरी तालाबन्दीबाट रोकिएको थियो ।
विद्यालयले अन्याय गरिएको भन्दै आइतबार समापन कार्यक्रममा शिल्ड र पदक बहिस्कार गरेको छ ।
बैजनाथले प्रतियोगितामा भलिबल शिल्ड सहित विद्यार्थीले विभिन्न विधामा पदक जितेका थिए । शिल्ड सहितका सबै पदक बहिस्कार गरिएको छ ।
पदक गणनामा विवाद भएपछि आयोजक भीमदत्त नगरपालिका राष्ट्रिय खेलकूद परिषद्सित सुझाव लिएको थियो ।
राखेपले प्रतिस्पर्धा गराउन सम्भव नभएमा पदक जिल्ला स्तरीय छनौट गर्न सकिने प्रष्ट व्यवस्था सहितको पत्र पठाएको थियो । प्रतियोगिता आयोजक समितिको निर्णायक समितिले त्यस विपरित पदक गणना नहुने निर्णय गरेपछि विवाद चर्किएको थियो ।

