

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ बागबाणीका पवन जोशी फ्लोरिडा इन्टरनेशन माध्यमिक विद्यालय कक्षा ९ मा पढ्छन् ।
भविष्यमा सफ्टवेयर इन्जिनियर बन्ने लक्ष्य राखेका जोशी सहितले बुधबार विद्यालयमा गरिएको विज्ञान कला र खाद्य प्रदर्शनीमा रोबोटिक कार प्रदर्शन गरे ।
विद्यालयको कक्षा कोठाभित्र राखिएको कार अभिभावकहरुले शुल्क तिरी हेरे । कार हेर्न २० रुपैँया शुल्क राखिएको थियो ।
जोशी सहित रोकाया र धामीले सबै दर्शकलाई कार गुडाएर देखाए ।
विज्ञान विषयको अप्लिकेसन अफ उल्ट्रा सोनिक वेभ्स पाठ पढेपछि कार बनाउने सोच आएको जोशीले बताए ।
‘विज्ञान विषयमा अप्लिकेसन अफ उल्ट्रा सोनिक वेभ्स पाठ छ, त्यो पढेपछि कार बनाउने आइडिया आयो, त्यसपछि साथीहरुसित मिलेर बनाए’ उनले भने ।

रोबोटिक कारले प्रदुषण कम हुने भएकाले वातावरण संरक्षणमा टेवा पुग्ने बताए । कार बनाउन ६ सय रुपैँया खर्च भएको जोशीले सुनाए ।
कक्षा ४ की काव्या गुप्ताले मन्दिर बनाएर प्रदर्शनीमा राखिन् । गणेश भगवानको मूर्ति सहित बनाएर राखिएको मन्दिरबाट सबैले शान्ति पाउने उनले बताइन् ।
‘मन्दिरमा भगवान हुन्छ, यो मन्दिरमा पनि गणेश भगवान छन्’ उनले भनिन्,‘मन्दिरबाट शान्ति मिल्छ ।’
काब्या पठनपाठन बाहेक ब्याडमिन्टन खेल्ने गरेका बताउँछिन् ।
भीमदत्त नगरपालिका १८ स्थित भीम वाटिका निर्माण गरी प्रदर्शनमा राखियो । पूर्णिमा चौधरी, बिडिशा रावल र आरुही चन्दले पार्क बनाएका हुन् । भीम वाटिकाका सबै संरचना र सौन्दर्य समेटेर बनाएको पार्कको चित्रले अभिभावकको ध्यान खिचेको छ ।
‘यो त सेम पार्क जस्तै बनाएको छ, विद्यार्थीहरुले निकै नै मिहिनेत गरेको रहेछ’ प्रदर्शनी अवलोकनका क्रममा पत्रकार धन बहादुर बोहराले भने ।


कक्षा २ की कामना सुनारले दुई सय खर्च गरी घर बनाएर प्रदर्शनीमा राखेको बताइन् । उनी सहित तीन विद्यार्थीले घर बनाएका हुन् । ‘घर नभए घाम पानी हावाबाट बच्न सकिदैन’ उनले भनिन् ।
कक्षा ६ का राम चुनारा, प्रिन्स कुवर, देब्यान रावल, करुणा जोशी, उत्सव जोशी, हेमन्त महारा र दिनेश जोशीले बनाएको वाटर फिल्ट्रेसन सिस्टम र रोबोट प्रदर्शनमा थियो ।
बागवाणीका चुनाराले मोबाइलमा युटयुब भिडियो हेरेर वाटर फिल्ट्रेसन सिस्टम बनाएर प्रदर्शनीमा राखेको बताए ।
भविष्यमा सैनिक हुने लक्ष्य राखेका उनी फोहर पानीले स्वास्थ्यलाई हानी पुगाउने भएकाले स्वच्छ पानी खानु पर्ने र त्यसका लागि दुषित पानीलाई छान्नु पर्ने बताउँछन् । ‘फोहर पानी खान सकिन, खाएपछि रोग लाग्छ’ उनले भने ।
चुनाराका बुवा बिसन आर्मी छन् । देशको सेवा गर्न आफूले आर्मी बन्ने लक्ष्य राखेको उनले बताए ।

विद्यालयले बुधबार पाँचौ विज्ञान, कला र खाद्य प्रदर्शन गरेको हो । यस बाहेक भिडियो गेम पनि खेलाइएको छ । विद्यार्थीहरु आफैैले बनाएको भिडियो गेम खेलाइएको विद्यालय प्रिन्सिपल जयराज ओझाले बताए ।
विद्यार्थी, शिक्षक, अभिभावक सहित प्रर्दशनीमा सहभागी भएर अवलोकन गरे । विहानदेखि विद्यालय प्राङ्गणमा प्रदर्शनी राखिएको हो ।
विद्यालयका प्रिन्सिपल ओझाले विद्यार्थीहरुलाई पठनपाठन बाहेक अतिरिक्त र जीवनोपयोगी शिक्षा आवश्यक हुने भएकाले प्रदर्शनी गरिएको बताए ।
‘विद्यार्थीलाई किताबी ज्ञान मात्रै पर्याप्त हुँदैन, प्रयोगात्मक ज्ञान पनि आवश्यक हुन्छ’ उनले भने, ‘विद्यार्थीहरुको ध्यान अन्त नजान दिन, कोर्ष बाहेकका कुराहरु पनि आवश्यक हुन्छन्, यसबाट विद्यार्थीले आफैंले गरेर धेरै कुरा सिक्न सक्छन्, एक आपशमा मिलेर काम गर्दा एकता पनि बलियो हुने हुन्छ ।’
विद्यार्थीको रुची अनुसार विद्यालयले प्रदर्शनीका लागि काम दिएको बताए । विद्यार्थीहरुलाई कक्षा शिक्षक र सम्बन्धि विषयका शिक्षकले सहयोग गरेको उनी बताउँछन् ।
विद्यार्थीहरुले मोबाइलको प्ले स्टोरमा हेर्ने अप्लिकेश्न आफैले बनाएर प्रदर्शनीमा राख्नु ठूलो उपलब्धि भएको बताए ।
विद्यार्थीहरुले खाना पकाउन जान्ने नजान्ने कुरा पनि प्रदर्शनीबाट सिकेको बताए । विद्यालयका कक्षा नर्सरीदेखि १० सम्म पढ्ने सबै विद्यार्थी प्रदर्शनीमा भाग लिएका छन् ।
प्रदर्शनी हेर्न आएका अभिभावकहरुले विद्यार्थीहरुको प्रतिभा बाहिर ल्याउने प्रदर्शनीले सहयोग पुग्ने आशा व्यक्त गरे ।
भीमदत्त नगरपालिका १४ वनकट्टी सरिाता विष्टले प्रदर्शनी राम्रो लागेको बताइन् ।
नर्सरीदेखि १२ सम्म पठनपाठन हुने फ्लोरिडामा ९ सय विद्यार्थी अध्ययनरत छन् ।
